तिहारगायतको चाडपर्वका अवसरमा प्लास्टिक तथा कृत्रिम फूलमालाको प्रयोग बढ्दै गएपछि हेटौंडा उपमहनगरपालिकाले यस्तो बजारलाई प्रतिबन्धित गरेको छ । प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्न उपमहानगरपालिकाले स्थानीय स्तरका ३१ जना पुष्प व्यवसायीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गर्दै प्लाष्टिक तथा कृत्रिम फूलमालाको प्रयोग नगर्न भनेको हो ।

स्थानीय पुष्प व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीतिका साथ हेटौँडा उपमहानगरपालिकाले प्राकृतिक फूलमालाको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको हो । अघिल्लो वर्ष पनि उपमहानगरले प्लास्टिको फूलमाला विक्री गरिएको अवस्थामा पसलहरुबाट यस्ता मालाहरु जफत गरेको थियो । नेपालीहरूको महान् चाड तिहार तथा दीपावलीको अवसर पारेर उपमहानगरपालिकाले कात्तिक १८ गते जारी गरेको सूचनामा स्थानीय कृषकको उत्पादन प्रवद्र्धनमा सहयोग पुग्ने गरी प्राकृतिक फूलमाला प्रयोग गर्न र गराउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।

प्लास्टिक तथा कृत्रिम फूलमालाको प्रयोगले वातावरणीय प्रदूषण बढाउने भएकाले यसको सट्टा प्राकृतिक फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्ने उपमहानगरपालिकाले यस्तो पहल गरेको जनाएको छ । स्थानीय किसानले उत्पादन गरेका फूलको बजार सुनिश्चित गर्दै कृषि उत्पादनको प्रवद्र्धन र किसानको आयआर्जनमा समेत सहयोग पुर्याउने उपमहानगरपालिकाको उद्देश्य रहेको नगर प्रमुख मिना कुमारी लामाले बताए । प्राकृतिक फूलमालाको खरिद–बिक्री तथा बजारीकरणमा सहजता ल्याउन उपमहानगरपालिकाले व्यावसायिक फूलखेती गर्दै आएका ३१ जना कृषकको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरणसमेत सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा सयपत्री फूलखेती गर्ने कृषकहरू रहेका छन् ।

सूचीमा हेटौँडा–४ का सन्तोष सापकोटा, हेटौँडा–६ का बालकृष्ण चौलागाईं र अनुराधा उप्रेती, हेटौँडा–८ की उर्मिला चौलागाईं, हेटौँडा–१० की ललिता उप्रेती तथा हेटौँडा–१२ र् १३ का विभिन्न कृषक समेटिएका छन् । विवरण छुटेका तर पुष्प व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई उपमहानरको रेकर्डमा आफूलाई दर्ज गराउन समेत आग्रह गरेको छ । उपमहानगरपालिकाले फूलमाला खरिद गर्न चाहने उपभोक्ता तथा व्यवसायीलाई सार्वजनिक गरिएको सम्पर्क विवरणका आधारमा उत्पादक किसीनसँग प्रत्यक्ष सम्पर्क गर्नसमेत सहज हुनेछ ।

तिहारमा घर, मठमन्दिर तथा सार्वजनिक स्थान सजाउन फूलमालाको माग बढ्ने गर्दछ । यस्तो समयमा बजारमा प्लास्टिकका कृत्रिम फूलमाला भित्रिने र प्रयोगपछि लामो समयसम्म नष्ट नहुने फोहोरका रूपमा रहने समस्या भएकोले आफूहरुको ध्यानाकर्षण भएको नगरप्रमुख लामाले बताइन् । प्राकृतिक फूलमालाको प्रयोगले वातावरण संरक्षणसँगै स्थानीय उत्पादनको खपत बढाउन र किसानलाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताइन् ।

स्थानीय उत्पादनको प्रवद्र्धन, वातावरण संरक्षण र किसानको आर्थिक सशक्तीकरणलाई एकैसाथ जोड्ने उद्देश्यसहित उपमहानगरपालिकाले प्राकृतिक फूलमालाको प्रयोगलाई प्राथमिकता दिन नगरवासी तथा व्यवसायीलाई आग्रह गरेको छ । उपमहागरको कार्यलाई लक्ष्यित गर्दै पुष्ष व्यवसायी बालकृष्ण चौलागाई भन्छन्–यो धेरै सर्हानिय कार्य भएको छ तर यति मात्रै ले पुग्दैन । बजार अनुगमनको अत्यन्तै जरुरी छ । बजारमा परारको बर्षको भन्दै बजारलाई नै कुरुप बनाउने प्लास्टिकका सजावटका सामाग्रीहरु बन्द गरिदा धेरै सुन्दर हुन्छ ।’

पालिका प्रेस
थप जानकारी