जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहार र छठ पर्व मर्यादित रूपमा मनाउन आग्रह गरेको छ । प्रशासनले कात्तिक १९ गते विज्ञप्ति जारी गर्दै चाडपर्वका नाममा अरूलाई असर पर्ने गतिविधि नगर्न अनुरोध गरेको हो ।

विज्ञप्तिमा देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ । पटका, भुइँचम्पा र आतिशबाजी प्रयोग नगर्न पनि आग्रह गरिएको छ । दीपावलीमा बत्ती तथा विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ । जुवा, तास, सट्टेबाजी र लङ्गुरबुर्जाजस्ता गतिविधि नगर्न पनि सचेत गराइएको छ ।

त्यस्तै, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने र सार्वजनिक शान्ति भंग गर्ने काम नगर्न भनिएको छ । चाडपर्वको समयमा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने र म्याद गुज्रिएका वस्तु बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको छ । सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु नराख्न र तोकिएकोभन्दा बढी भाडा नलिन पनि प्रशासनले ध्यानाकर्षण गराएको छ । सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाएको स्मरण गराउँदै त्यसको पालना गर्न आग्रह गरिएको छ ।

कुनै अवाञ्छित गतिविधि भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न प्रशासनले अनुरोध गरेको छ । विज्ञप्तिमा उल्लेखित निर्देशन उल्लंघन गरे प्रचलित कानुनअनुसार कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी शोभाकान्त पौडेलले जनाएका छन् ।

पालिका प्रेस
थप जानकारी