मकवानपुरको इन्द्रसरोवर तालमा डुङ्गामा सयर गर्दै पर्यटकहरु । यस तालमा आन्तरिक तथा बाह्यि पर्यटकहरुको घुइचो लाग्ने गर्दछ । यहाँ काठमाण्डौंतर्फबाट र हेटौंडातर्फबाट सहजै सवारी साधनमा पुग्न सकिन्छ । फोटोः विज्ञान विष्ट/पालिका प्रेस

मकवानपुरको कुलेखानी जलासय (इन्द्रसरोवर) यतिबेला भरिभराउ छ । शनिबार बिहान गरिएको मापनअनुसार यतिबेला इन्द्रसरोवरमा पानीको सतह १ हजार ५२७ मिटर छ। इन्द्रसरोवरमा पानी भण्डारण क्षमता भने १ हजार ५ सय ३० मिटर हो ।

असोज दोस्रो र तेस्रो साता भएको वर्षाले जलासयमा पानी भन्डारण पर्याप्त रहेको आयोजनाले जनाएको छ। असोज १२ गते कुलेखानी जलासयमा पानीको सतह अकस्मात बढेपछि बाँधको ढोका खोल्ने तयारी भएको थियो। तर, त्यतिबेला निरन्तर विद्युत् उत्पादन भइरहेकाले बाँधमा पानीको सतह १ हजार ५२७.७ मिटरभन्दा माथि जान पाएन।
विगत एक सातादेखि भने कुलेखानी आयोजनाबाट विद्युत् उत्पादन नगरिएको आयोजनाले जनाएको छ। ०८१ साल असोज दोस्रो साता भारी वर्षा हुँदा कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो। त्यसबेला बाँधको ढोका खोल्दा इन्द्रसरोवर–३ स्थित सिस्नेरीबजारदेखि टेकरसम्मका ठूलो मानवीय क्षतिसँगै विभिन्न भौतिक संरचनामासमेत क्षति पुगेको थियो।

३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइमा फैलिएको कुलेखानी जलाशय पूर्ण रूपमा भरिँदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ।जलासयमा पूर्णरूपमा पानी जम्मा हुँदा पानीको गहिराइ ८० मिटरसम्म बन्छ। इन्द्रसरोवरमा रमाइलो गर्न आन्तरिक र वाह्य पर्यटक पुग्ने गरेका छन्। मकवानपुरको उत्तरी क्षेत्रमा रहेका थाहा नगरपालिकाका दामन, पालुङ, वज्रबाराही र चित्लाङका साथै इन्द्रसरोवर गाउँपालिकाका मार्खु र फाखेल यस जलाशयका प्रमुख जलाधार क्षेत्र हुन्।

पूर्ण क्षमतामा चल्दा कुलेखानी प्रथमबाट ६० मेघावाट, कुलेखानी दोस्रोबाट ३२ मेघावाट र कुलेखानी तेस्रोबाट १४ मेघावाट विद्युत उत्पादन हुन्छ। नेपालको एकमात्र जलाशययुक्त कुलेखानी आयोजनाबाट विशेषगरी सुख्खायाममा विद्युत् उत्पादन गर्ने गरिएको छ।

पालिका प्रेस
थप जानकारी