मकवानपुर थाहा नगरपालिका स्थित पालुङ क्याम्पसको आयोजनामा स्नातक तह चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नवप्रवेशी विद्यार्थीहरूको स्वागत, अवकाशप्राप्त कर्मचारीको बिदाइ तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षता तथा थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यमा २३ असोजमा आयोजित कार्यक्रममा क्याम्पसको शैक्षिक तथा संस्थागत विकासमा योगदान पु¥याएको भन्दै उपप्राध्यापक सन्तोष हमाल र पूर्व सञ्चालक समिति सदस्य एवं असल अभिभावक निरञ्जन अधिकारीलाई सम्मान गरिएको थियो।
त्यसैगरी, क्याम्पसमा लामो समय सेवा गरी अनिवार्य अवकाश प्राप्त गरेका कार्यालय सहयोगी बिजुलीप्रसाद ढकाललाई सम्मानसहित बिदाइ गरिएको थियो। कार्यक्रममा नगर प्रमुख विष्टले पालुङ क्याम्पसको शैक्षिक गुणस्तरमा पछिल्लो समय निरन्तर सुधार भइरहेको उल्लेख गर्दै विद्यार्थीको नियमित उपस्थितिले सिकाइ उपलब्धि र शैक्षिक नतिजामा थप सुधार ल्याउन सकिने बताए । उनले थाहा नगरपालिकाले पालुङ क्याम्पसलाई अभिभावकत्व प्रदान गर्दै आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
थाहा नगरपालिका–३ का वडाध्यक्ष एवं क्याम्पस सञ्चालक समिति सदस्य हिरेन्द्रकुमार रायमाझीले वडा कार्यालयले शिक्षा क्षेत्रका लागि विनियोजित अनुदानमार्फत क्याम्पसको छात्रवृत्ति कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएको जानकारी दिए । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष राजीवकुमार स्याङ्तानले गुणस्तरीय शिक्षा निर्माणमा विद्यार्थी, प्राध्यापक, अभिभावक, परिवार र समग्र समाजको समान रूपमा महत्त्वपूर्ण भूमिका रहने बताए । प्राध्यापक संघ एकाइ सभापति एवं सञ्चालक समिति सदस्य प्रकाश पौडेलले आगामी शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीलाई नियमित अध्ययन र मेहनतमा केन्द्रित हुन आग्रह गरे । उनले पालुङ क्याम्पसलाई राष्ट्रियस्तरमा परिचित शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए ।
सम्मानित व्यक्तित्व निरञ्जन अधिकारीले पालुङ क्याम्पस स्थापनादेखि हालसम्म यसको विकासमा योगदान पु¥याउने अग्रजहरूको स्मरण गर्दै क्याम्पसले आगामी दिनमा थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा क्याम्पसमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको शैक्षिक सफलताको कामना गरिएको थियो। साथै, विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्