हिन्दू नेपालीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व तिहारको अन्तिम दिनलाई भाइटीका वा यमद्वितीया भनिन्छ। यस दिनलाई अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ।
दिदीबहिनीले दाजुभाइको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै सप्तरंगी टीका र माला लगाइदिने हुनाले यसलाई पारिवारिक सम्बन्ध बलियो बनाउने विशिष्ट पर्वका रूपमा मनाइन्छ। भाइटीकाले दाजुभाइ र दिदीबहिनीबिचको प्रेममय सम्बन्धलाई रङ्गहरूजस्तै सधैँ गाढा, ताजा र प्रज्ज्वल बनाइराख्ने विश्वास गरिन्छ।
पौराणिक कथाअनुसार कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा यमुनाले यमराजलाई आफ्नो घरमा निम्तो दिएकी थिइन्। यमुनाको निम्तो स्वीकार गरी कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म बहिनीका घरमा बसी रमाइलो गर्दै भाइटीका लगाएका हुनाले यस समयलाई यमपञ्चक भनिएको हो।
Laxmi sunrise bank
आफ्नी बहिनीको सत्कारबाट निकै प्रसन्न भई सूर्यका छोरा यमराजले ‘के वर माग्छ्यौ, माग’ भन्दा यमुनाले ‘प्रत्येक वर्ष यसै समयमा मलाई भेट्न आउनुपर्ने, दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु तथा कीर्ति सर्वदा वृद्धि होस्’ भनी वरदान मागिन्। यमराजले पनि बहिनी यमुनालाई ‘तथास्तु’ भनी वरदान दिए। यही पौराणिक कथनअनुसार अविच्छिन्न रूपमा अहिलेसम्म तिहारमा भाइटीका लगाउने परम्परा चलेको हो।
यसैकारण आजको दिन दाजुभाइले आफ्नो घरमा भोजन गर्नु हुँदैन। दिदीबहिनीका घरमा गई स्नेहपूर्वक पुष्टिवर्धक भोजन गर्नुपर्दछ। सुवर्ण, अलङ्कार, वस्त्र एवं अन्नद्वारा पूजा गरी सबै दिदीबहिनीको सत्कार गर्नुपर्दछ। आफ्नै सहोदर दिदीबहिनी नभएमा जसलाई दिदीबहिनीझैँ व्यवहार गरिन्छ, तिनैको पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।
दाजुभाइलाई टीका लगाइदिनुअघि दिदीबहिनीले दियो, कलश र गणेश स्थापना गरी षोडशोपचारले पूजा गर्नुपर्दछ। दाजुभाइलाई नटुटाई तेलको धाराले र त्यसपछि पानीको धाराले छेक्नुपर्दछ। दिदीबहिनीले फूल, अक्षता, चन्दन र लाभाले दाजुभाइको पूजा गर्नुपर्दछ। शिरमा तोरीको तेल लगाएर कपाल कोरिदिनुपर्दछ। साथै, बिमिरो र यमराजको पूजा गरी ढोकाको सँघारमा राखिएको ओखर फुटाएर कालको बाटो छेक्नुपर्दछ।
Asian Paints
पूजाविधि सकिएपछि दिदीबहिनीले दाजुभाइको आरोग्य, यश र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिनुपर्दछ। कहिल्यै नओइलाउने मखमली, सधैँ हरियो रहने दुबो र सयपत्री फूलको माला लगाइदिनुपर्दछ। सगुनस्वरूप दही खुवाउनुपर्दछ।
आफ्ना दाजुभाइलाई सधैँ त्यस्तै तेजस्वी रूपमा देख्न पाउने विश्वासका साथ चेलीबेटीले माला लगाइदिने गर्दछन्। त्यसपछि सेलरोटी, फलफूल, मिठाई, मसला, कटुस र कपडासहितका उपहारहरू समावेश भएको भाग दाजुभाइलाई दिइन्छ।
दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी पनि लगाइदिन्छन्। टोपीले आयु बढाउने विश्वास गरिनुका साथै यसले राष्ट्रियता पनि झल्काउँछ। यति गरेपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका र माला लगाइदिई आफ्नो गच्छेअनुसार उपहार तथा दक्षिणा प्रदान गर्नुपर्दछ।
भविष्य पुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल द्वितीयामा ठूलोबुबा तथा कान्छा बुबाका छोरीहरूका हातबाट भोजन ग्रहण गर्नुपर्दछ। भाद्र शुक्ल द्वितीयामा मामाका छोरीहरूको हातबाट भोजन ग्रहण गर्नुपर्दछ।
आश्विन शुक्ल द्वितीयामा सानीआमा, ठूलीआमा र फुपूहरूका छोरीको हातबाट भोजन ग्रहण गर्नुपर्दछ। त्यस्तै, कार्तिक शुक्ल द्वितीया अर्थात् आज सहोदर दिदीबहिनीका हातबाट भोजन ग्रहण गर्नुपर्दछ। जसले आजको दिन सहोदर दिदीबहिनीको हातबाट भोजन ग्रहण गर्दछ, त्यसले संसारका उत्तम रत्न तथा धनधान्यको सुख भोग गर्न पाउँछ भनी शास्त्रमा बताइएको छ।
आज नेपालमा भाइटीकाको शुभ साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। स्थान विशेषका कारण विदेशमा भने टीकाको साइत फरक पर्न सक्दछ। टीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्दछ भने लगाइदिने दिदीबहिनी पूर्व फर्केर टीका लगाउनुपर्दछ। टीकाको दिन दिदीबहिनी नहुनेहरूले रानीपोखरीबिचमा रहेको बालगोपालेश्वर मन्दिरमा गई टीका र आशीर्वाद लिने प्रचलन रहेको छ। यो मन्दिर आज बिहानदेखि साँझसम्म मात्र खुल्ने गर्दछ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्