फोटोः गणेश विष्ट/पालिका प्रेस

मकवानपुरका ग्रामीण क्षेत्रमा कोदोखेती गर्ने क्रम घट्दै गएको छ । खेती गर्ने जनशक्तिको अभाव, बढ्दो बसाइँसराइ र वैकल्पिक खेतीप्रति किसानको आकर्षण बढेसँगै कुनै समय गाउँघरको प्रमुख खाद्यबालीका रूपमा रहेको कोदोखेती घट्दै गएको हो । तर, अर्कोतर्फ हेटौंडा उपमहानगरपालिकाभित्रका घरहरुमा, होटल तथा रेस्टुरेन्टमा भने कोदोबाट बनेका परिकार लोकप्रिय बन्दै गएका छन् ।

स्वास्थ्यप्रति बढ्दो सचेतना, स्थानीय उत्पादनबाट बनेका परिकारप्रतिको आकर्षण र परम्परागत खानाको स्वाद लिने उपभोक्ताको रुचिका कारण हेटौंडाका होटल तथा रेस्टुरेन्टमा कोदोको ढिँडो, रोटी, सेलरोटीलगायत परिकारको माग बढ्न थालेको छ । कुनै समय ग्रामीण क्षेत्रमा दैनिक खानाका रूपमा प्रयोग हुने कोदो अहिले सहरका होटल तथा रेस्टुरेन्टको आकर्षक परिकार बन्न थालेको छ । मकवानपुरगढी गाउँपालिकाका ग्रामीण क्षेत्रमा कुनै समय प्रशस्त कोदोखेती हुने पाखोबारी अहिले क्रमशः बाँझिँदै गएका छन् । खेती गर्न बढी श्रम र समय लाग्ने तर आम्दानी तुलनात्मक रूपमा कम हुने भएकाले किसानले कोदोखेतीलाई प्राथमिकतामा राख्न छाडेका हुन् ।

मकवानपुरगढी गाउँपालिका–वडा नम्बरे ६ का किसान किसान उर्मिला स्याङतानका अनुसार पहिले गाउँका अधिकांश घरपरिवारले आफ्नो बारीमा कोदोखेती गर्ने गरेका थिए । अहिले भने खेती गर्ने जनशक्ति नपाउने र युवाहरू रोजगारीका लागि सहर तथा विदेश जाने क्रम बढेकाले कोदोखेती घट्दै गएको छ । उनी भन्छिन्, “पहिले घरपरिवारकै सदस्य मिलेर कोदो रोप्ने, गोडमेल गर्ने र भित्र्याउने गरिन्थ्यो । अहिले गाउँमा खेती गर्ने मानिस नै पाउन मुस्किल छ । कोदोखेतीमा धेरै मेहनत गर्नुपर्ने भएकाले पनि किसानले विस्तारै खेती छाड्दै गएका छन् ।”

भीमफेदी गाउँपालिकाका १ का किसान उमेश लामा पनि कोदोखेती घट्नुको मुख्य कारण कृषि जनशक्तिको अभाव र खेतीबाट पर्याप्त आम्दानी नहुनुलाई मान्नुहुन्छ । उनका अनुसार पहिले कोदो लगाउने बारीमा अहिले अन्य खेती गर्ने वा जमिन बाँझै राख्ने क्रम बढेको छ । उनी भन्छन्, “कोदो हाम्रो परम्परागत बाली हो । पहिले घरमा खान पुग्ने गरी कोदो लगाइन्थ्यो । अहिले बजारबाट चामल किनेर खाने चलन बढेको छ । खेती गर्न दुःख धेरै हुने भएकाले नयाँ पुस्ताको पनि कोदोखेतीमा खासै रुचि देखिँदैन ।”

ग्रामीण क्षेत्रमा कोदोखेती घट्दै गए पनि हेटौंडा उपमहानगरपालिकाभित्रका होटल तथा रेस्टुरेन्टमा भने कोदोका परिकारप्रति आकर्षण बढिरहेको छ । विशेषगरी कोदोको ढिँडो, फापर तथा अन्य स्थानीय खाद्य परिकारसँगै कोदोको रोटी र सेलरोटी उपभोक्ताको रोजाइमा पर्न थालेका छन् । हेटौंडाका उपभोक्ता ५ का श्याम थापाका अनुसार कोदोबाट बनेका परिकार स्वादिलो हुनुका साथै परम्परागत खानाको स्वाद लिन चाहनेका लागि राम्रो विकल्प बनेका छन् । उनी भन्छन्, “पहिले कोदोको ढिँडो गाउँघरमा मात्रै खाने परिकारका रूपमा लिइन्थ्यो । अहिले हेटौंडाका होटलमा पनि सजिलै पाइन्छ । चामलका परिकारभन्दा फरक स्वाद र स्थानीय खाद्यबालीको महत्व बुझ्दै जाँदा कोदोका परिकार खाने रुचि बढेको छ ।”

त्यस्तै, हेटौंडा ४ का अर्का उपभोक्ता रमा सापकोटा को अनुभवमा पछिल्लो समय होटलमा कोदोको ढिँडो र रोटी खोज्ने ग्राहक बढेका छन् । उनी भन्छिन, “हामीले सानैदेखि खाँदै आएको कोदोको परिकार अहिले होटलमा गएर पनि खान पाइन्छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने र पुरानो खानाको स्वाद सम्झनेहरूका लागि यस्ता परिकार राम्रो विकल्प बनेका छन् ।” कोदोका परिकारको लोकप्रियता बढ्दै जाँदा यसको उत्पादन र बजारीकरणमा समेत सम्भावना देखिएको छ । तर, मागअनुसार स्थानीय उत्पादन उपलब्ध गराउन ग्रामीण क्षेत्रमा खेती विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । गाउँमा कोदोखेती घट्ने र सहरमा यसको माग बढ्ने अवस्थाले कृषि उत्पादन र बजारबीचको सम्बन्धलाई पनि उजागर गरेको छ ।

पालिका प्रेस
थप जानकारी