पृथ्वी राजमार्गअन्तर्गत् धादिङको कृष्णभीरमा पहिरो गएर सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं आवागमनका लागि त्रिभुवन राजपथलाई एकतर्फी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयले मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरका किसान तथा तरकारी व्यवसायी थप समस्यामा परेका छन् । सडक एकतर्फी सञ्चालन गरिएसँगै दामनपालुङ क्षेत्रबाट हेटौंडातर्फ तरकारी बोकेर आउने सवारीसाधनलाई रोक लगाइएपछि किसानले उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन नसक्ने अवस्था सिर्जना भएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले पृथ्वी राजमार्गको अवरोधका कारण त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थापन गर्दै हेटौंडाबाट काठमाडौंतर्फ जाने सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै पठाउने र काठमाडौंबाट हेटौंडातर्फ आउने सवारीसाधनलाई कान्तिलोकपथ हुँदै सञ्चालन गर्ने व्यवस्था गरेको छ । यसै कारण थाहा नगर बाट हेटौंडा हुँदै तराई तथा बिभिन्न जिल्लाका बजारमा जाने तरकारी बोकेका सवारीसाधनको आवागमन प्रभावित भएको हो । नेपाल तरकारी तथा फलफूल व्यवसायी संघ उत्तरी क्षेत्र समितिका अध्यक्ष राजेन्द्र बिडारीकाअनुसार थाहा नगरबाट दैनिक ठूलो परिमाणमा तरकारी बाहिरी जिल्लाका बजारमा आपूर्ति हुँदै आएको छ । सडक अवरुद्ध र एकतर्फी सञ्चालनका कारण तीन दिनदेखि किसानले खेतबारीबाट बिक्री योग्य तरकारी बजारसम्म लैजान नसक्ने अवस्था आएको उनले बताए । बिडारीकाअनुसार थाहा नगरबाट साना–ठूला गरी दैनिक करिब एकसय सवारीसाधनमा चार देखि पाँच सय मेट्रिकटन विभिन्न प्रकारका तरकारी पोखरा, हेटौंडा तथा तराईका जिल्लामा जाने गरेको छ ।
सामान्य अवस्थामा थाहा नगरमा उत्पादन हुने तरकारी हेटौंडा हुँदै वीरगञ्ज, नारायणगढ, बुटवल, निजगढ, जनकपुरलगायत प्रमुख बजारमा पुग्ने गरेको भएपनि अहिले सडक आवागमनमा गरिएको व्यवस्थाले ती बजारमा तरकारी पठाउन समस्या भएको हो । ‘यो तरकारी उत्पादन हुने मुख्य समय हो । किसानले उत्पादन गरेका तरकारी हेटौंडा हुँदै वीरगञ्ज, नारायणगढ, बुटवल, निजगढ, जनकपुरलगायत सहरमा आपूर्ति हुँदै आएको थियो,’ बिडारीले भने, ‘तरकारी बजारमा पु¥याउनुपर्ने समयमा खेतबारीमै थन्किएको छ । काठमाडौँमा मात्र पठाउँदा किसानले लगानी उठाउन सक्ने अवस्था छैन ।’ उनकाअनुसार तरकारी लामो समयसम्म खेतबारीमा राख्न नसकिने भएकाले सडक अवरोधको असर प्रत्यक्षरुपमा किसानको आम्दानीमा परेको छ । एक दिनमात्र तरकारी बजारमा पु¥याउन नसक्दा पनि ठूलो आर्थिक क्षति हुने भन्दै उनले स्थानीय प्रशासनसँग वैकल्पिक व्यवस्था गरिदिन आग्रह गरिएको बताए ।
इलाका प्रहरी कार्यालय पालुङमा समस्याबारे जानकारी गराउँदा तत्काल कुनै वैकल्पिक व्यवस्था हुन नसकेको उनको गुनासो छ । थाहा नगरका किसान निरोज प्रधानले सडक एकतर्फी भएपछि उत्पादित तरकारी बजारसम्म पु¥याउनै समस्या भएको बताए । प्रधानकाअनुसार थाहा नगरमा उत्पादन हुने तरकारीको आधाभन्दा बढी हिस्सा हेटौंडा, पोखरा तथा तराईका विभिन्न जिल्लामा खपत हुने गरेको छ । अहिले ती बजारमा तरकारी लैजान नपाउँदा किसानले उत्पादन गरेको तरकारी खेतमै राख्नुपर्ने बाध्यता भएको उनले बताए । ‘थाहा नगरमा उत्पादन हुने तरकारीको ठूलो हिस्सा हेटौंडा, पोखरासहित तराईका जिल्लामा जाने हो । काठमाडौँको बजारमा मात्र निर्भर हुँदा किसानले उचित मूल्य पाउँदैनन्,’ प्रधानले भने, ‘लागत मूल्यसमेत नउठ्ने अवस्था भएपछि खेतबारीबाट तरकारी निकालेर बजारसम्म लैजान किसान उत्साहित हुँदैनन् ।’ सडकको अवस्था तत्काल सुधार नभए तरकारी खेतबारीमै छिप्पिने, कुहिने र नोक्सानी हुने जोखिम रहेको किसानको भनाइ छ ।
विशेषगरी वर्षायाममा तरकारी लामो समय भण्डारण गर्न नसकिने भएकाले सडक अवरोधले किसानको लगानी डुब्ने अवस्था आउने उनीहरु बताउँछन् । थाहा नगरप्रमुख विष्णु बहादुर विष्टले त्रिभुवन राजपथलाई एकतर्फी सञ्चालन गर्ने प्रशासनको निर्णयपछि नगरक्षेत्रमा उत्पादित तरकारी बजारसम्म पठाउन समस्या समाधान गर्न सीमभञ्ज्याङ–गोलमोट–देउराली सडक प्रयोगमा ल्याउन थालिउको बताए । नगरप्रमुख विष्टले विपद्को अवस्थामा किसान, व्यवसायी तथा स्थानीय अर्थतन्त्रमा पर्ने प्रभावलाई मध्यनजर गर्दै गोलमोड– देउराली–भीमफेदी हुँदै हेटौंडातर्फ ढुवानी सुरु गरिएको बताएका छन् । तीन दिनदेखि गोलमोड– फापरबारी–देउराली सडक सफा गरेर तरकारी गाडी आवागमन खुलाइएको नगरप्रमुख बिष्टले जानकारी दिएका छन् । नगर पालिकाले किसानको समस्या सम्बोधन गर्न हरसम्भव प्रयास भइरहेको नगर प्रमुख बिष्टले बताए । ‘
विपद्को अवस्थामा बैकल्पिक सडक व्यवस्थापन आवश्यक छ,’ विष्टले भने, ‘तर, निर्णय गर्दा किसान, व्यवसायी र स्थानीय अर्थतन्त्र पनि हेर्नुपर्छ । प्रशासनले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्छ । किसानलाई लामो समयसम्म उत्पादन खेतबारीमै राख्नुपर्ने अवस्था आयोभने ठूलो आर्थिक क्षति हुनसक्छ ।’ पृथ्वी राजमार्गको कृष्णभीरमा आएको पहिरोका कारण काठमाडौं आवतजावतका लागि वैकल्पिक सडकको रुपमा त्रिभुवन राजपथ प्रयोग गर्नुपर्ने बाध्यता भएपनि त्यसबाट स्थानीय उत्पादनको आपूर्ति प्रणाली प्रभावित हुन नदिन प्रशासनले छुट्टै व्यवस्थापन गर्नुपर्ने किसान तथा व्यवसायीको माग छ । किसानले उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउने व्यवस्था मिलाउन सकेमात्र विपद्को अवस्थामा पनि स्थानीय अर्थतन्त्रलाई चलायमान राख्न सकिने भन्दै थाहा नगरका किसान तथा व्यवसायीले प्रशासनसँग तत्काल वैकल्पिक व्यवस्थापनको उपाय खोज्न आग्रह गरेका छन् ।















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्