भीमफेदी गाउँपालिकामा उज्यालो नेपाल पार्टीको पहिलो बैठकले आशिष अस्लामीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ । १८ असोजमा भीमफेदी–१ टौबासमा सम्पन्न बैठकले पार्टीको पालिकातहको संगठन विस्तारसँगै आगामी तीन महिनाका लागि सदस्यता वितरण र संगठन निर्माणको कार्ययोजना तय गरेको हो ।

बैठकबाट कार्यसमितिको उपाध्यक्षमा रोशन घलान, सचिवमा सुदीप लामा, उपसचिवमा ल्हासाबुटी स्याङ्बा र कोषाध्यक्षमा युगेन घलान चयन भएका छन् । सदस्यमा राजीव परियार, भीमबहादुर थोकर, नारायण मोक्तान, टसी लामा, वीर बहादुर मोक्तान, प्रयास गोले, मानव तामाङ, रोहित गोले, दिनेश राना, विजय थीङ, प्रिया तामाङ, अम्मर सिंह वाइबा र सानुकान्छा घलान रहेका छन् । बैठकले जीतमानसिंह वाइबा र चन्द्र तितुङलाई पार्टीको पालिका सल्लाहकारमा मनोनीत गरेको छ ।

उज्यालो नेपाल पार्टीले भीमफेदीमा तीनमहिने संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत टोलभेला गर्ने, वडाभेला आयोजना गरी वडाकमिटी गठन गर्ने तथा प्रत्येक वडामा ८० भन्दा बढी सदस्यता वितरण गर्ने लक्ष्य राखिएको छ । अभियानलाई विशेषगरी महिला, युवा तथा अल्पसंख्यक समुदायमा केन्द्रित गर्ने निर्णय गरिएको छ । बैठकमा पार्टीको विचार, संगठन विस्तार र आगामी राजनीतिक गतिविधिका विषयमा छलफल भएको थियो । हरित क्रान्तिमार्फत् नेपाली नागरिकको जीवन रुपान्तरण, सुशासन र सामाजिक न्यायलाई पार्टीको प्रमुख राजनीतिक एजेन्डाकारुपमा अघि बढाउने विषयमा छलफल भएको छ ।

उज्यालो नेपाल पार्टी बागमती प्रदेश कमिटी सचिव रामप्रसाद कालाखेतीको प्रमुख आतिथ्यमा भएको बैठकमा प्रदेश कमिटी सदस्य बद्रीबहादुर स्याङतान र गोविन्द भ्लोन, मकवानपुर जिल्ला अध्यक्ष इन्जिनियर सुरेन्द्र लामा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का गत निर्वाचनका उम्मेदवार डा. प्रवीण स्याङतान लगायत सहभागी थिए । बैठकको अध्यक्षता नवनिर्वाचित अध्यक्ष आशिष अस्लामीले गरेका थिए भने सञ्चालन सचिव सुदीप लामाले गरेका थिए ।

पालिका प्रेस
थप जानकारी