साँकेतिक चित्र Google बाट

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेशजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले लागूऔषध चरेश ओसारपसारमा प्रयोग भएको एउटा गाडीसमेत नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार राति करिब १ः४५ बजे चित्लाङस्थित प्रहरी चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो।

गोरखा, चितवनको सौराहा र हेटौंडा हुँदै काठमाडौं जाँदै गरेको बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको सेतो रङको ओमोडा जेइकु ६ टी एसयूभी गाडी रोकेर जाँच गर्ने क्रममा पछाडिको डिक्कीमा रहेको कालो रङको लगेजभित्र लुकाएर राखिएको अवस्थामा पाँच पोका चरेशजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। लत्ताकपडाभित्र सेतो प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा फेला परेको उक्त पदार्थ स्थानीय जनप्रतिनिधि तथा मानिसहरूको उपस्थितिमा बरामद गरिएको थियो। मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकसहित ६ किलो १४० ग्राम र प्लास्टिक हटाउँदा ६ किलो ४० ग्राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले गाडी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ स्थायी घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र गाडीमा सवार चितवनको भरतपुर महानगरपालिका–११ कोलटाँडी स्थायी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्लेलाई नियन्त्रणमा लिएको छ।

बरामद पदार्थ, गाडी र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

पालिका प्रेस
थप जानकारी