बैकुण्ठ मानन्धर खेलकुद नेपालको आयोजना २८ कार्तिकमा भएको थानकोट–चित्लाङ क्रसकन्ट्री दौड प्रतियोगितामा कीर्तिपुरका धर्म महर्जन पहिलो भएका छन् । निर्धारित १० माइल दूरी १ घण्टा १५ मिनेटमा पूरा गर्दै कीर्तिपुरका धर्म महर्जनले प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेका हुन् ।
चन्द्रागिरि नगरपालिका–४ थानकोट कोतघरबाट सुरु भएको दौड मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ पुगेर सम्पन्न भएको थियो । बैकुण्ठ मानन्धर खेलकुद नेपालको आयोजनामा २८ कार्तिकमा प्रतियोगिता भएको हो । २ सय ५० धावक सहभागी प्रतियोगिताका सहभागिहरुलाई करिब १६ किलोमिटर अर्थात १० माइल दुरी निर्धारण गरिएको थियो ।
प्रतियोगितामा सहभागी हुन पुगेका धावकहरू थानकोटस्थित साझा घरमा भेला भएका थिए। त्यसपछि स्थानीय बाजागाजासहित थानकोट क्षेत्रको परिक्रमा गर्दै धावकहरूलाई स्वागत गरिएको थियो। परिक्रमाका क्रममा स्थानीयवासीले ठाउँठाउँमा घडा राखेर, खादा ओढाएर तथा स्थानीय बुहारी समूहले टीका लगाएर स्वागत तथा सम्मान गरेका थिए।
दौडमा सहभागी धावकहरूले चन्द्रागिरिको उकालो–ओरालो, घुम्ती तथा चुनौतीपूर्ण भौगोलिक मार्ग पार गर्दै चित्लाङसम्मको यात्रा पूरा गरेका थिए । प्रतियोगिताको समापनस्थलमा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर विष्ट, वडा नम्बर ९ का अध्यक्ष राजकुमार बलामी, वडा सदस्यहरु तथा चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीलगायत जनप्रतिनिधिहरूले धावकहरूलाई स्वागत गरेका थिए ।
प्रतियोगितामा प्रथमदेखि पाँचौँ स्थानसम्म हासिल गर्ने धावकहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरी पुरस्कृत गरिएको थियो। उक्ता प्रतियोगितालाई करिब २४ वर्षअघिको ऐतिहासिक दौडको निरन्तरताका रूपमा समेत लिइएको छ । यसअघि आयोजित दौडमा मुगुका कीर्तिमानी धावक अक्कलबहादुर बोहरा प्रथम भएका थिए । आफ्नो खेलजीवनको सुरुवाती उपलब्धिसँग जोडिएको प्रतियोगितालाई पुनः निरन्तरता दिइएकोमा खुसी व्यक्त गर्दै बोहराले यसपटक खेलाडीको प्रोत्साहनका लागि १० हजार रुपैयाँ सहयोगसमेत गरेका थिए ।
खेलकुदलाई इतिहास, संस्कृति र पर्यटनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले चन्द्रागिरि र थाहा नगरपालिकाबीचको सामाजिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै अन्तरपालिका सहकार्यको रुपमा लिइएको थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले प्रतिक्रिया दिए ।














































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्