मकवानपुरको बागमती गाउँपालिकामा आगामी मङ्सिर ८ गतेदेखि नवौँ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ए डिभिजनका ६ र मोफसलका ४ गरी १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
बागमती खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। समितिका अध्यक्ष तथा प्रतियोगिता संयोजक रहर सिं थिङले प्रतियोगिताको तयारी अघि बढाइएको जानकारी दिँदै यस संस्करणमा १० टोलीको सहभागिता रहने बताए।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले फुटबल खेलको विकास, विस्तार र व्यवसायीकरणलाई प्रोत्साहन गर्नुका साथै प्रतिभाशाली खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताए। गाउँपालिकाले ग्रासरुट तहदेखि नै फुटबलको विकास गर्ने लक्ष्यसहित आफ्नै लगानीमा फुटबल एकेडेमी सञ्चालन गर्नुका साथै खेलकुद पूर्वाधार निर्माणलाई समेत प्राथमिकता दिएको उनले बताए।
बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन्। विधागततर्फ उत्कृष्ट पाँच खेलाडीलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याच घोषित हुने खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा फुटबल प्रशिक्षक मेघराज केसी, पत्रकार प्रताप विष्ट, अखिल नेपाल फुटबल संघ (एन्फा) मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बललगायतको उपस्थिति रहेको थियो।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्