मकवानपुर थाहा नगरपालिका–२ स्थित पालुङ शहरको दशै घरमा आग्राबाट ल्याइएको फुलपाती भित्र्याइएको छ । स्थानीय सरकार प्रमुख, उपप्रमुखसहित जनप्रतिनीधिहरुको सहभागितामा शुभ साइतमा सलामी दिई दशै घरमा फुलपाती भित्र्याइएको हो ।
थाहा नगरपालिका वडा नम्बर ७ आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फुलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फुलपाती चौरसम्म बाजागाजा सहित लिन जाने र विधिपूर्वक पुजा गरेर फुलपाती ल्याउने परम्परा छ । डोलीमा राखेर हर्षोल्लासका साथ ल्याइने फलुपातीले थाहानगरमा दशैं आएको संकेत गर्दछ ।

दशैमा मात्र प्रयोगमा आउने पालुङको खोला किनारामा रहेको उक्त चौरलाई सबैले फुलपाती चौरको नामले चिन्छन् । फुलपाती चौरमा ल्याइएको फुलपातीलाई पुजाविधि अनुसार शुभ साइतमा बली सहित इलाका प्रहरी कार्यालयका प्रहरीद्वारा सलामी दिएपछि पालुङको दशै घरमा फुलपाती भिञ्याउने पुरानो चलन हो ।

परापूर्व कालदेखिदेखि नै संचालन हुँदै आएको परम्परा तत्कालिन प्रधानपञ्चको नेतृत्वमा हुँदै आएको भए पनि मुलुकमा बहुदल आएपछि तत्कालि दामनपालुङ आर्थिक विकास सहयोग समितिले व्यवस्थापन गर्दै पालुङ गाविसका पूर्व अध्यक्ष श्यामभक्त श्रेष्ठनले बताए । पालुङ स्थित दशै घरमा फुलपाती भित्र्याएपछि स्थानीयहरुले घरघरमा फुलपाती लगेर आफ्नो घर–घरमा लगि भित्र्याउने परम्परा छ । दशैघरबाट स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र जनप्रतिनीधिहरुलाई समेत ‘बोगतो’ (सालको पातबाट बनेको टपरी जस्तै विशेष बाकस) मा राखेर फुलपाती दिने चलन छ । फूलपाती लिन थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट उपप्रमुख भरत गोपाली लगायतका जनप्रतिनीधिहरु पनि पुगेका थिए । दशैघरबाट विभिन्न देवी देवताको गुठी तथा मन्दिर व्यवस्थापन समितिका पदाअधिकारीहरुलाई पनि फुलपाती दिने चलन छ ।

संस्कृति र परम्परा जोगाउँदै धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा नगरलाई विकास गर्न समेत सघाउ पुग्ने भएकोले पुरानो परम्परालाई जोगाउन आवश्यक भएको नगर प्रमुख विष्णु बहादुर विष्टले प्रतिक्रिया दिए । पुरानो परम्परामा नै पहिचान हुने भएकोले यस्तो चालचलन जोगाउन सँधै प्रतिवद्ध हुने वडा अध्यक्ष बम बहादुर सिन्तान बताउँछन् ।
फुलपाती भित्र्याउने कार्यक्रममा थाहा नगरपालिकाका विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली, थाहा–२ का वडा अध्यक्ष बम बहादुर सिन्तानको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु, भूतपूर्व सैनिक संघ मकवानपुरका कमल कुमार केसी, पूर्व जनप्रतिनीधि श्यामभक्त श्रेष्ठ तथा पत्रकार र सुरक्षा निकायको उपस्थिती उपस्थिती रहेको थियो ।
दशै घरमा घटस्थापनाको दिन स्थानीयहरुले सामुहिक जमरा राखेका छन् । पालुङको दशै घरमा महाअष्टमी राती कालरात्री गरिन्छ । महानवमीको दिन दशै घर नजिकैको कोतमौलामा कोतपुजा र विजयादशमीको दिन टीका तथा जमराको कार्यक्रम समेत रहेको स्थानीय निरोज प्रधानले जानकारी दिए ।
















































विशाल रायमाझी 












प्रतिक्रिया दिनुहोस्