राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मकवानपुरको थाहा नगरपालिकामा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम भएको छ । ‘कर न्याय र सुशासन सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ कर दिवसको अवसरमा आयोजित कार्यक्रम पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको हलमा भएको थियो ।

आन्तरिक राजस्व कार्यालय मकवानपुरको आयोजनामा तथा थाहा नगरपालिका र थाहा नगर उद्योग वाणिज्य संघको समन्वयमा भएको कार्यक्रम थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रवक्ता ध्र्रुवबहादुर घलानले कर शिक्षा सम्बन्धी अभिमुखीकरणकार्यक्रममा सहजीकरण गरेका थिए । घलानले आफ्नो प्रस्तुतिमा करको महत्व, करदाताको दायित्व, कर प्रणाली, करसम्बन्धी कानुनी व्यवस्था तथा कर अनुपालनका विषयमा जानकारी गराएका थिए । अभिमुखीकरणका क्रममा आर्थिक ऐन, २०८३ ले व्यवस्था गरेका विभिन्न कर छुट तथा सहुलियतसम्बन्धी प्रावधानबारे समेत जानकारी गराइएको थियो।

आन्तरिक राजस्व कार्यालय मकवानपुरकी प्रमुख लक्ष्मी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगर उपप्रमुख भरत गोपाली, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, कर अधिकृत सुनिता पौडेल, राजकुमार विक, धनबहादुर कट्टुवाललगायतको उपस्थिति रहेको थियो। सो अवसरमा थाहा नगर उद्योग वाणिज्य संघको तर्फबाट कर कार्यालय प्रमुख लक्ष्मी पराजुली तथा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठलाई स्वागत गरेको थियो । भर्खरै सरुवा भई हाजिर भएका दुबै व्यक्तिलाई थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले खादा लगाएर स्वागत गरेका हुन् ।

कार्यक्रममा थाहा नगरका उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

पालिका प्रेस
थप जानकारी