नेकपा एमालेले पालिका चुनावको तयारीका लागि भन्दै राष्ट्रिय भेला बोलाएको छ । पर्सि मङ्सिर २ र ३ गते काठमाण्डौमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने आज भएको पत्रकार सम्मेलनमा पार्टीको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।
पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आउँदो पालिका चुनावको तयारी र पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ । केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा आचार्यले सहभागी सङ्ख्याका आधारमा महाधिवेशनपछिको ठूलो कार्यक्रमका रूपमा भेलालाई लिइएको बताउनुभयो ।
भेलाको उद्घाटन पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । भेलाको व्यवस्थापनका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । त्यस्तै एमालेले राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा भोलि स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने प्रचार विभागका प्रमुख आचार्यले जानकारी दिनुभयो ।
भेलालगत्तै ४ गते पालिकाका जनप्रतिनिधिसहित भेला र ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने एमालेले जनाएको छ ।















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्