बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधिका लागि एसआरजी आग्रा र हेटौँडा उपमहानगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

२२ कार्तिकमा भएको पहिलो सेमिफाइनलमा साविक विजेता तमु बहुउद्देश्यीय कृषि फार्मलाई ३–२ को सेटमा पराजित गर्दै एसआरजी आग्रा फाइनल प्रवेश गरेको हो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट तमुले २५–२० ले जितेको थियो । दोस्रो सेटमा ३०–२८ र तेस्रो सेटमा २५–१३ को जित निकाल्दै आग्राले खेलमा पुनरागमन गरेको थियो । चौथो सेटमा तमुले २५–१८ को जित निकाल्दै खेललाई पाँचौँ सेटमा पुर्‍याए पनि निर्णायक सेटमा आग्रा १५–७ ले विजयी हुँदै फाइनलमा पुग्न सफल भयो ।

त्यस्तै, दोस्रो सेमिफाइनलमा आयोजक बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानलाई ३–१ को सेटमा पराजित गर्दै हेटौँडा उपमहानगरपालिकाले फाइनलमा स्थान बनाएको छ । हेटौँडाले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–१७ ले जितेको थियो । तेस्रो सेटमा आयोजकले २५–२३ को जित निकाले पनि चौथो सेटमा २५–१५ ले विजयी हुँदै हेटौँडा उपमहानगरपालिकाले उपाधि भिडन्तमा एसआरजी आग्रासँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा एसआरजी आग्राले मंगलेश्वर युवा क्लब, तमु बहुउद्देश्यीय कृषि फार्मले कुमारी युवा क्लब, आयोजकले क्रिएटिभ युवा क्लब र हेटौँडा उपमहानगरपालिकाले हिमचुली टोल विकास संस्थालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका थिए । आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल कात्तिक २३ गते दिउँसो १२ बजे हुनेछ । मकवानपुरका १४ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले ५० हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, सेटर, डिफेन्डर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । सेमिफाइनल चरणपछिका खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी