मकवानपुर थाहा नगरपालिकामा अन्तरपालिका जिल्लास्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा ‘मकवानपुर जिल्ला अन्तरपालिकास्तरीय खुला भलिबल प्रतियोगिता–२०८३’ सञ्चालन हुन लागेको हो।
२० कार्तिकबाट चारदिनसम्म सञ्चालन हुने प्रतियोगिता थाहा नगरपालिकास्थित फाँटबजारको भलिबल चौरमा सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, द्वितीय हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्रसहित ५० हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ । पुरस्कार वितरणका क्रममा प्रचलित कानून बमोजिम कर कट्टी गरी दिइने आयोजकले स्पष्ट पारेको छ ।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ। सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, सेटर, डिफेन्डर, उदयमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ।
यस्तै, सेमिफाइनलपछिका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’बाट सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार सञ्चालन हुनेछ । प्रत्येक टिममा सम्बन्धित पालिकाकाले अधिक्तम ३ जना बाह्यि खेलाडी समावेश गर्न पाइने भएको छ ।
स्थायी खेलाडीको हकमा नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले ३ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। टिम दर्ता तथा खेलाडीको नामावली कात्तिक १९ गते टाइसिट निकाल्नुअघि नै आयोजकसमक्ष बुझाइसक्नुपर्नेछ। टाइसिट सोही दिन दिउँसो निकालिने कार्यक्रम रहेको छ। खेलाडीको योग्यता तथा सहभागितासम्बन्धी कुनै विवाद वा उजुरी (प्रोटेस्ट) गर्नुपरेमा खेल समाप्त भएको ३० मिनेटभित्र ३ हजार ५०० रुपैयाँ नगदसहित लिखित निवेदन दिनुपर्ने नियमसमेत बनाइएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले थप जानकारी तथा दर्ताका लागि आयोजकको मोबाइल नम्बर ९८५५०६८६३६ मा सम्पर्क गर्न सक्नेछन्।














































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्