चिसो बढेसँगै उत्तरी भूगोलदेखि बसाइँसराइ गरी झर्ने चराको विश्रामस्थल हेटौंडा पनि हो । स्थानीय वनजंगल र खोलानालामा पाइने चरासहित यहाँ ३६४ प्रजाति अभिलेख गरिएको छ ।

स्थानीय प्रजातिका चरासँगै मंगोलिया, रुस, चीन लागायत देशबाट आउने आप्रवासी चरासमेत भेटिन्छन् । यहाँका चराको पहिचान, अवस्था र बासस्थान समेटेर हेटौंडा उपमहानगरपालिकाले हालै पुस्तक प्रकाशन गरेको छ ।

‘बर्ड्स अफ हेटौंडा’ नामक पुस्तकको लेखन तथा सम्पादन लामो समयदेखि चराका बारेमा अध्ययन एवं अनुसन्धान गर्दै आएका दृष्टान्त बिडारीले गरेका छन् । प्रारम्भिक चरणमा जनचेतना फैलाउने उद्देश्यले हेटौंडाका कलेजहरूमा उक्त पुस्तक राखिएका छन् भने विदेशी पर्यटकहरूलाई घुमाउने बर्ड गाइडहरूलाई पनि वितरण गरिएको अनुसन्धानकर्ता बिडारीले जानकारी दिए ।

वातावरण विज्ञानमा स्नातक गरी हाल वाइल्डलाइफ म्यानेजमेन्ट विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका बिडारीले विगत ६/७ वर्षदेखि पन्छी तथा वन्यजन्तुका बारेमा अध्ययन अनुसन्धान गर्दै आएका छन् ।

Birds of Hetauda: A Book Identifying Birdsदृष्टान्त बिडारीको फेसबुकबाट

हेटौंडाका प्रमुख चरा पाइने क्षेत्र र त्यहाँ पाइने चराका प्रकारका बारेमा पुस्तकमा सचित्र वर्णन गरिएको उनले बताए । पुस्तकमा बिडारीसहित अन्य ६ जना फोटोग्राफरले खिचेका तस्बिर समावेश गरिएको छ भने पुस्तकका लागि आवश्यक तथ्यांक संकलन तथा सम्पादन बिडारी स्वयंले गरेका हुन् ।

हेटौंडाको मत्स्यपालन केन्द्र, राप्ती खोला, कर्रा खोला, वन विज्ञान क्याम्पस, मनकामना डाँडा, सामुदायिक वन तथा चुरे क्षेत्रमा पाइने चराहरूका बारेमा पुस्तकमा वर्णन गरिएको छ । ३६४ वटा चराका नेपाली, अंग्रेजी र वैज्ञानिक नाम उल्लेख गरिएको छ । साथै, हेटौंडामा तिनीहरूको अवस्थाका बारेमा पनि उल्लेख गरिएको छ ।

Birds of Hetauda: A Book Identifying Birdsदृष्टान्त बिडारीको फेसबुकबाट

विशेषगरी नारायणीबाट आउने चराहरू तराई पुग्नुअघि एक रात बास बसेर जाने गरेको र धेरै प्रजातिका चरा यहाँ पाइने गरेको उल्लेख छ । उच्च हिमाली भेगमा पाइने खोया हाँस र नेपालमै दुर्लभ मानिने अमुरबाज पनि हेटौंडामा अभिलेख गरिएको छ ।

लाङटाङ र गोसाइँकुण्डजस्ता चिसो ठाउँमा पाइने तिलहरी चरा जाडो बढेपछि राप्ती खोलामा आउने गर्छ । अनुसन्धानकर्ता बिडारीका अनुसार तिलहरी चरा पहिलापहिला राप्ती पुलदेखि बस्तीपुरसम्म पाइने गरेको थियो । अहिले चौकीटोलभन्दा माथिको एकदमै सानो क्षेत्रमा देखा पर्छ । ढुंगा, बालुवा तथा गिट्टी निकाल्ने कामले गर्दा खोलामा पाइने चराहरूको बासस्थान बिगार्ने गरेको उनको भनाइ छ ।

-By ekantipur

पालिका प्रेस
थप जानकारी