मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले कोदो र कोदोको पिठो ब्रान्डिङ, लेबलिङ र प्याकेजिङको तयारी थालेको छ ।

मकवानपुरगढी गाउँपालिकाको १७ फागुनमा भएको गाउँ कार्यपालिका बैठकमा र अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थामा प्याकेजिङका विभिन्न तरिकाहरु नमूना प्रदर्शनी गरिएको छ । सो अवसरमा बाक्लो कागजको डिब्बा, पेपरको प्लाष्टिक कोटेड प्याकेट, कपडाको सुर्के थैेली, प्लाष्टिकको प्याकेट, प्लाष्टिकमा साधारण स्टिकर राखिएकाहरु प्रदर्शनी गरिएको थियो ।

रैथाने बाली प्रवद्र्धनन कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको सहयोगमा अपाङ तथा विपन्न कृषि सहकारी संस्था लिमिटेड मकवानपुरगढी ४, कालिखोला मार्फत बजारीकरण गर्ने गरि कालिखोला ब्रान्डको नाममा कोदोको दाना र पिठोको लेबलिङ र प्याकेजिङको तयारी भईरहेको पालिकाका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । ब्रान्डिङ, लेबलिङ र प्याकेजिङको कार्यमा स्टोरी साइकलले प्राविधिक सहयोग गरिरहेको छ ।