मकवानपुरको थाहा नगरपालिकाले कुकुरमा रेबिज रोग नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक तथा घरपालुवा कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाउने भएको छ । नगरपालिकाको पशु सेवा शाखाले आर्थिक वर्ष २०८३/०८४ को संघीय सशर्ततर्फको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कुकुरमा रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन गर्न लागेको हो।

नगरपालिकाका अनुसार कार्यक्रमअन्तर्गत सामुदायिक तथा घरपालुवा कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाउनुका साथै छाडा कुकुरको गणना गरी म्यापिङसमेत गरिनेछ । यसबाट नगर क्षेत्रमा रहेका कुकुरको अवस्थाबारे तथ्यांक संकलन तथा रेबिज नियन्त्रणका लागि आवश्यक योजना बनाउन सहयोग पुग्ने नगरपालिकाको पशु विकास शाखाले जनाएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको कार्यक्रमअनुसार १२ असोज बिहान ७ बजेदेखि थाहा नगरपालिका–४ अन्तर्गत सिमभञ्ज्याङ, दामन, शिखरकोट, थानाबजार र ओखर बजार हुँदै नौखण्डे बजारसम्म खोप तथा कुकुर गणना कार्यक्रम सञ्चालन हुनेछ । त्यस्तै १३ असोज बिहान ७ बजेदेखि बज्रबाराही र चित्लाङ क्षेत्रमा कार्यक्रम सञ्चालन हुने सूचनामा उल्लेख छ ।

नगरपालिकाले सम्बन्धित स्थानका घरपालुवा कुकुरका धनी तथा स्थानीयवासीलाई कार्यक्रम सञ्चालन हुने स्थान र समयमा आफ्ना कुकुरलाई खोप लगाउन सहयोग गर्न आग्रह गरेको छ । छाडा तथा सामुदायिक कुकुरको गणना र म्यापिङ कार्यमा समेत आवश्यक सहयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

पालिका प्रेस
थप जानकारी