नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । १५ कार्तिकमा थाहानगरमा एक कार्यक्रमको आयोजना गरी जागरण अभियानको औपचारिक शुभारम्भ भएको घोषणा गरिएको हो ।

थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षता एवम् एमाले केन्द्रीय सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा भएको जागरण अभियान शुभारम्भ एवम् नगर विस्तारित भेला आयोजना गरिएको हो । भेलाले मतदाता तहसम्म जोडेर युवाहरुलाई समेत प्रभावकारी समावेश गरेर लैजाने गरी कार्यक्रम तय गरिएको छ । वडाले मंसिर ५ गतेभित्र वडा र टोल कमिटीहरुको बैठक गर्ने निर्णय गरेको छ । भेलाले मंसिर ५ गतेदेखि ११ गतेसम्म जनसंगठनहरुको अधिवेशन गर्ने निर्णय गरेको छ ।

यसैगरी, मंसिर १२ गतेदेखि मंसिर २३ गतेसम्म वडा अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको छ । भेलाबाट अनुमोदित कार्ययोजनाहरुलाई सम्पन्न गर्न नगर कमिटीका विभिन्न नेताहरुलाई जिम्मेवारी दिइएको छ । विस्तारित भेलाले थाहा ५ का विष्णुबहादुर गुरुङ र थाहा १ का अभिषेक गोपालीलाई नगर कमिटी सदस्यमा मनोनित गरेको छ ।

भेलाका अवसरमा प्रमुख अतिथि बर्तौलाले ३५ वर्षसम्म पुराना पार्टीहरुले के गरे भनेर गरिएको हल्लालाई चिर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । भेलामा प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला सदस्यहरु शशीधर सुवेदी, विमल कुमार ढकाल, हरि गोपाली, सुनिता दोङ, तुलसा विष्ट र नगर कमिटी उपाध्यक्ष हेम कुमार थिङले मन्तव्य व्यक्त गरेका थिए ।

भेलामा वडा कमिटीका अध्यक्षहरु, जनवर्गीय संगठनका अध्यक्षहरुले रिपोर्टिङ समेत गरेका थिए । नगर कमिटीले मंसिर २३ गतेसम्म अभियान अन्तर्गतका कार्यक्रमहरु सम्पन्न गरी मंसिर २५ गते नगर कमिटीको विस्तारित बैठक गर्ने निर्णय समेत गरेको छ ।

पालिका प्रेस
थप जानकारी