भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा नगरपालिकाले लिने भएको छ। कमाइ गरेर परिवार पाल्दै आएका अभिभावक (बुवा) बेपत्ता भएपछि प्रभावित बालबालिकाको पढाइको व्यवस्था नगरपालिकाले मिलाउने निर्णय गरेको हो। भोटेकोशीको बाढीमा परेर थाहा नगरपालिकाका २० जना बेपत्ता भएका छन्। बेपत्तामध्ये एक जना मात्रै अविवाहित छन्।
रोजगारी गरेर घरपरिवारको पालनपोषण गर्दै आएका अभिभावक नै बेपत्ता भएपछि उनीहरूका बालबालिकाको पढाइको व्यवस्था नगरपालिकाले मिलाउने थाहा नगरपालिकाका मेयर विष्णुबहादुर विष्टले बताए। ‘भोटेकोशीको बाढीमा अभिभावक गुमाएका के–कति बालबालिका छन्, उनीहरूको तथ्यांक लिँदै छौं,’ उनले भने।
थाहा नगरपालिकाले भोटेकोशीको बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ। उक्त निर्णयअनुसार बाढीमा परेर बेपत्ता भएपछि उनीहरूको खोजीका लागि सम्बन्धित परिवारलाई नगरपालिकाले तत्कालै २० हजार रुपैयाँ उपलब्ध गराएको थियो। बेपत्ता भएका २० जनाका परिवारलाई खोजीका लागि प्रतिपरिवार २० हजार रुपैयाँ दिइएको हो। बाँकी ८० हजार रुपैयाँ मृत्यु दर्ता गराएपछि उपलब्ध गराइने नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलले बताए।
भदौ १० गतेको बाढीमा थाहा नगरपालिकाका २० जना बेपत्ता भएको ४५ दिन बितिसक्दा पनि एक जना पनि फेला परेको छैन। बेपत्तामध्ये १९ जना चालक र एक जना नेपाली सेनाका जमदार छन्। एक महिनासम्म पनि शव फेला नपरेपछि अधिकांश आफन्तले कुशको शव बनाएर आफ्नो परम्पराअनुसार अन्त्येष्टि गरेका छन्। तामाङ समुदायका आफन्तले पनि कुशकै शव बनाएर दाहसंस्कार गरेका छन्।
भोटेकोशी बाढीमा मकवानपुरका अझै ५८ जना सम्पर्कविहीन छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार हेटौंडा उपमहानगरपालिकाका २१ जना सम्पर्कविहीन छन् भने तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। थाहा नगरपालिकाका २० जना, मनहरी गाउँपालिकाका चार जना र मकवानपुरगढी गाउँपालिकाका तीन जना सम्पर्कविहीन भएका छन्। यसैगरी भीमफेदी गाउँपालिकाका दुई जना सम्पर्कविहीन छन् भने भीमफेदीका एक जनाको मृत्यु भएको प्रशासनले जनाएको छ।
यसैबीच, बकैया गाउँपालिकाका तीन जना, इन्द्रसरोवर गाउँपालिकाका दुई जना, कैलाश गाउँपालिकाका दुई जना र राक्सिराङ गाउँपालिकाका एक जना सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। मकवानपुरको सुदूरपूर्वमा पर्ने बागमती गाउँपालिकामा भने कोही पनि प्रभावित नभएको विवरणमा उल्लेख छ। भोटेकोशीको बाढीपछि सम्पर्कविहीन भएकामध्ये ४१ जना चालक, १५ जना मजदुर, एक जना नेपाली सेनाका जमदार र एक जना इन्जिनियर रहेका छन्।
भोटेकोशीको बाढीमा फसेका मकवानपुरका ४५ जनाको उद्धार गरिएको थियो। रसुवा र नुवाकोटका विभिन्न क्षेत्रबाट उनीहरूको उद्धार गरिएको थियो। रसुवाको बाढीमा परी मकवानपुरका चार जनाको मृत्यु पुष्टि भइसकेको छ। आफन्तले शव बुझेर दाहसंस्कारसमेत गरिसकेका छन्। हालसम्म सनाखत भएका मृतकमा हेटौंडा–१५ का सुमन गोले, हेटौंडा–५ का उद्धव खड्का, हेटौंडा–१५ का रमेश मगर र भीमफेदी–२ का सविन राना रहेका छन्।
















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्