मकवानपुरको थाहा नगरपालिकासहितका स्थानीय तहलाई समेटिएको सुनाखरी पैदलमार्ग (अर्किड ट्रेल)मा विदेशी पर्यटकहरु आउन थालेका छन् । यो पैदलमार्ग अन्तर्गत थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म एउटा खण्ड परेको छ । सुनाखरी पैदलमार्गको नक्सा सार्वजनिक भएको केही समयपछि नै अमेरिका, युरोप र अस्ट्रेलियाका २१ जना पर्यटकले उक्त मार्गको भ्रमण गरेका हुन् । उक्त पैदलमार्गको १७ भाद्र, २०८२ मा नक्सा सार्वजनिक गरिएको थियो ।
थाहा नगरपालिका क्षेत्र सुनाखरीको विविधताका दृष्टिले महत्त्वपूर्ण क्षेत्र मानिन्छ । यस क्षेत्रमा पाइने सुनाखरीको प्राकृतिक विविधता, जैविक सम्पदा र पर्यटकीय सम्भावनाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चासो बढ्न थालेको छ । विशेषगरी यस मौसममा मात्रै यहाँ १५ प्रजातिका सुनाखरी फुलेको अवलोकन गर्न सकिन्छ । प्राकृतिक वनस्पति र जैविक विविधतामा रुचि राख्ने पर्यटकका लागि यो पैदलमार्ग आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ । मकवानपुरको भैँसेदेखि थाहा नगरपालिका चित्लाङसम्म १ सय ५० प्रजातिका सुनाखरी पाइन्छन् । विविध प्रजातिका सुनाखरी सिमभञ्ज्याङ र दामन क्षेत्रमा रहेका छन् ।

वनस्पति विज्ञ डा. भक्तबहादुर रास्कोटीको नेतृत्वमा आएको २१ सदस्यीय विदेशी पर्यटक टोलीले चित्लाङदेखि सिमभञ्ज्याङसम्मको सुनाखरी पैदलमार्गको २३ कार्तिकदेखि २५ कार्तिकसम्म भ्रमण गरेको थियो । भ्रमण टोलीलाई सिमभञ्ज्याङमा थाहा नगरपालिका–४ का वडाध्यक्ष नारायण लामा, करुणाभूमि सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विनोद लामा, एभरेस्ट क्लबका अध्यक्ष शिवकुमार खत्री तथा स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।

सुनाखरी पैदलमार्गको पहिचान, नक्साङ्कन र प्रचारप्रसारले थाहा नगरपालिकाको प्राकृतिक पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खोलेको छ । विशेषगरी सुनाखरीलाई पर्यटनसँग जोडेर यसको संरक्षण र प्रवद्र्धन गर्न सके स्थानीय स्तरमा पर्यटन व्यवसाय, रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा थाहा नगरपालिकाको रहेको थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले बताए । थाहालाई जैविक विविधता तथा प्रकृतिमा आधारित पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न यो अभियानले महत्वपूर्ण आधार तयार गरेको उनले भने ।
















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्