मकवानपुरको थाहा नगरपालिकामा भएको नवौँ संस्करणको अन्तरपालिका जिल्लास्तरीय खुला रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधिका हेटौँडा उपमहानगरपालिकाले चुमेको छ । बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा भएको फाइनलमा एसआरजी आग्रालाई पराजित गर्दै हेटौंडाले उपाधी जितेको हो।

थाहा नगरपालिका–२ फेदीगाउँमा भएको फाइनल खेलमा २६–२४ ,२५–१६ ,२५–१२ अन्तरले एसआरजी आग्रालाई हेटौंडा उपमहानगरपालिकाले पराजित गरेको हो । उपाधिसँगै हेटौँडाले नगद १ लाख १ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको एसआरजी आग्राले नगद ५० हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, सेटर, डिफेन्डर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई ट्रफी प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षता भएको कार्यक्रममा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, थाहा नगरपालिका–२ का वडाध्यक्ष बमबहादुर सिन्तानलगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा निर्णायकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो ।

विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न प्रतियोगितालाई थाहा नगरपालिका र प्रदेश खेलकुद परिषद्, बागमती प्रदेशले सहयोग गरेका थिए । २० कार्तिकबाट सञ्चालन भएको प्रतियोगितामा मकवानपुर जिल्लाका १४ टीमको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी