तत्कालिन माओवादी ‘जनयुद्ध’मा दुई छोरा गुमाएकी वर्तमाया रखालले पक्की घर पाएकी छन् । मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीस्थित वर्तमाया रखाललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले नवनिर्मित घर शुक्रबार हस्तान्तरण गरेको हो ।

घर हस्तान्तरणसँगै पार्टीले राष्ट्रिय जागरण अभियानसमेत सुरु गरेको पार्टीका मकवानपुर संयोजक ध्रुव भुजेलले वताए । वर्तमायाले उक्त घर केवल इँटा, ढुंगा र सिमेन्टको संरचना मात्र नभइ जीवनका अनेक दुःख र अभावबीच प्राप्त गरेको संरचना भएको बताइन । जनयुद्धका क्रममा उनले आफ्ना दुई छोरा अर्जुन रखाल ‘सविन’ र दिलबहादुर रखाललाई गुमाएकी थिइन्। दुई छोरा गुमाएर पीडा खेपिरहेकी रखालको गत वर्ष श्रीमान् भीम रखालको पनि निधन भयो । छोरा र पतिको वियोगको पीडामा बाँचिरहेकी रखाललाई नयाँ घर पाउँदा केही राहत पुगेको स्थानीय रमेश रखालले बताए ।

यस्तो अवस्थामा पक्की घरमा बस्न पाउँदा राहत महसुस गरेको वर्तमायाले बताइन् । यसअघि उनी कच्ची घरमा बस्दै आएकी थिइन् । पार्टीले गत वर्ष जेठमा गणतन्त्र दिवसको अवसर पारेर घर निर्माणको शिलान्यास गरेको थियो । त्यसपछि सुरु भएको निर्माण कार्यमा पार्टीका नेता तथा कार्यकर्ताले श्रमदानसमेत गरेका थिए । सामूहिक प्रयासबाट निर्माण गरिएको घर वर्तमायालाई हस्तान्तरण गरिएको हो ।

बागमती गाउँपालिका अध्यक्ष एवं नेकपाका नेता सर्केश घलानले सहिदहरूको सपना पूरा गर्ने वाचाअनुरुप घर निर्माण गरिएको बताए । नवनिर्मित ३ कोठे आवासीय भवन प्रदेश सांसद एवं नेकपाको नेतृ कुमारी मोक्तानले हस्तान्तरण गरेकी हुन् ।

पालिका प्रेस
थप जानकारी