बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावका कारण बागमती प्रदेशसहित मकवानपुरमा भारी वर्षाको सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्चसतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार आगामी कात्तिक १२ गते बुधबारदेखि १४ गते शनिबारसम्म भारी वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडीक्षेत्रमा पहिरो खस्ने र सडक अवरुद्ध हुनसक्ने जोखिम रहेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार जरुरी सूचना जारी गर्दै सम्भावित क्षति न्यूनीकरणका लागि सर्वसाधारण, किसान, यातायात व्यवसायी तथा सरोकारवाला निकायलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।
प्रशासनले पाकेको धानबाली तथा अन्य उपज वर्षा सुरुहुनुअघि सुरक्षितरुपमा भित्र्याउन किसानलाई अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा कार्तिक ११ गते बुधबार अघि नै बाली भित्राउन वा वर्षाभर सुरक्षित राख्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । नदीकिनार, खोला तथा चुरेक्षेत्रका बासिन्दालाई उच्चसतर्कता अपनाउन भनिएको छ । वर्षाको अवधिभर खोलामा नतर्ने, माछा मार्ने तथा दाउरा संकलन गर्नेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको छ ।
भारी वर्षाका कारण त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौंडा–काठमाडौं छोटो मार्गलगायत ग्रामीण सडकमा पहिरोको उच्च जोखिम रहने प्रशासनको भनाइ छ । अत्यावश्यक कामबाहेक लामो दूरी तथा रात्रिकालीन यात्रा नगर्न र यात्रा गर्नुपरे सडकको अवस्था बुझेर मात्र निस्कन आग्रह गरिएको छ ।
प्रशासनले बालबालिका, ज्येष्ठनागरिक, गर्भवती, अपाड्डता भएका व्यक्ति, बिरामी तथा चौपाया र महत्वपूर्ण कागजातलाई पूर्वतयारीकासाथ सुरक्षित स्थानमा राख्न अनुरोध गरेको छ । सम्भावित विपद्को सामना गर्न जिल्लाका सबै स्थानीय तहलाई विपद् प्रतिकार्य संयन्त्र, स्वयंसेवक तथा राहत र उद्दार टोली तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।
जोखिमयुक्त बस्तीका परिवारलाई आवश्यकताअनुसार सुर क्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउनसमेत भनिएको छ । यसैगरी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्दार टोलीलाई आवश्यक उद्दार सामग्री सहित २४ सै घण्टा उच्चसतर्कतामा रहन आग्रह गरिएको छ । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय र स्थानीय तहलाई रणनीतिक स्थानमा डोजर तथा लोडर तयारी अवस्थामा राख्न भनिएको छ ।
प्रशासनले सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाको पछि नलाग्न र आधिकारिक निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरेको छ । सूचनामा आपत्कालीन अवस्थामा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको ११३४, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न सकिने उल्लेख छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्