मकवानपुरको थाहा नगरपालिका–३ का प्रदीप बर्तौला भदौ १० गते भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन भए। नेपाली सेनामा जमदार रहेका प्रदीप रसुवाको टिमुरे क्षेत्रमा कार्यरत थिए।
बाढीमा बेपत्ता हुनुअघि उनले बिहान परिवारसँग फोनमा कुरा गरेका थिए। श्रीमतीसँग करिब पाँच मिनेट कुरा गरेपछि प्रदीपको फोन काटियो।त्यसको केही समयपछि रसुवामा बाढी आएको दृश्यसहितका तस्बिर र भिडियो सामाजिक सञ्जालमा आउन थाले।
बाढीको खबर देख्नेबित्तिकै श्रीमतीले उनलाई फोन गरिन्। तर, फोन लागेन। त्यसपछि न कुनै सम्पर्क भयो, न उनको अवस्थाबारे कुनै खबर नै आयो।
बाढीमा परेर सम्पर्कविहीन भएका व्यक्तिहरूको नाम सार्वजनिक हुन थालेपछि परिवारले पनि सूचीमा प्रदीपको नाम भेट्यो। त्यसयता परिवारको दिनचर्या उनको खबर आउने आशामा बित्न थाल्यो। खोजी जारी रह्यो, तर प्रदीपको अवस्था पत्ता लाग्न सकेन।

लामो समयसम्म खोजी गर्दा पनि कुनै खबर प्राप्त नभएपछि परिवार अन्ततः उनको अन्तिम संस्कार गर्ने निर्णयमा पुग्यो। शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ। र, ११ वर्षीय प्रयत्नले बुवाको काजकिरिया गरेका छन्। तर, सेतो कपडा लगाएर किरिया बसिरहेका प्रयत्नलाई बुवा अब घर फर्कंदैनन् भन्ने कुरा अझै थाहा छैन।
प्रदीपका जेठा छोरा प्रवेश बर्तौला वैदेशिक रोजगारीको लागि विदेशमा छन्। कान्छा छोरा प्रयत्न आमासँगै बुवाको किरियामा बसेका हुन्। असोज १३ गते कुशको शव बनाएर दाहसंस्कार गरेपछि हिन्दु परम्पराअनुसार परिवारले काजकिरिया सुरु गरेको हो।
सेतो कपडा लगाएर किरिया बसिरहेका प्रयत्नलाई बुवा बाढीमा परेर सम्पर्कविहीन भएको कुरा थाहा छ। तर, बुवा अब घर फर्कंदैनन् भन्ने थाहा छैन। बुवाको शवसमेत नभेटिएको अवस्थामा परिवारले मृत्यु संस्कार गरिरहँदा बालक प्रयत्न भने बुवा फर्केर आउने आशामै छन्।
श्रीमानको काजकिरिया गरिरहेकी प्रदीपकी श्रीमती पार्वता केसी छोरातिर हेर्दै भन्छिन्, ‘बच्चा त हो। के के भन्छ, भन्छ। उसलाई अब बाबा घर आउनुहुन्न भन्ने कुरा पनि थाहा छैन। बाढीमा परेर हराएको भन्ने चाहिँ थाहा छ।’
उनका अनुसार प्रदीप सम्पर्कविहीन भएपछि प्रयत्नको व्रतबन्ध गरेर किरिया सुरु गरिएको हो। बुवाको अवस्थाबारे स्पष्ट जानकारीसमेत नपाएका प्रयत्नका लागि अहिलेको दैनिकी सेतो कपडा लगाएर किरिया बस्नु र बुवाको सम्झनामा दिन बिताउनु बनेको छ।
प्रदीपका कान्छा भाइ ध्रुव बर्तौलाका अनुसार नेपाली सेनाका अधिकारीहरूसँगको छलफलपछि ३५ दिन कटेपछि मात्रै संस्कारको काम सुरु गरिएको हो।

‘हामीले त २०/२२ दिनमै कुशको शव बनाएर अन्त्येष्टि गरौँ भन्ने सोचेका थियौँ,’ ध्रुवले भने, ‘निरन्तर नेपाली सेनाका माथिल्लो तहका हाकिम साबहरूसँग पनि छलफल गरिरहेका थियौँ। उहाँहरूले ३५ दिन कुर्नुस् भन्नुभएपछि बल्ल किरिया सुरु गरेका हौँ।’
प्रदीप नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए। २०५८ सालमा नेपाली सेनामा भर्ती भएका ४४ वर्षीय प्रदीपको अन्त्येष्टिमा सेनाको टुकडीले सैनिक सम्मानसहित सलामी दिएको थियो। प्रदीपको दुई श्रीमती छन्। हाल जेठी श्रीमती पार्वता केसी बर्तौला र कान्छी श्रीमती सावित्रा थापा दुवैले श्रीमान्को काजमा बसेका छन्।
थाहा नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर विष्टका अनुसार थाहाका २० जना सम्पर्कविहीन मध्ये अधिकांशले आफ्नो संस्कार अनुसार काजकिरिया गरिरहेका छन्। विपद्का बेला थाहा नगरपालिकाले आफ्ना नागरिकको खोज उद्धार देखि संस्कारकार्य सम्ममा हातेमालो गर्दै आएको नगर प्रमुख विष्टले बताए।
तत्कालीन अवस्थामा सम्पर्कविहीन व्यक्ति खोजीका लागि पीडित परिवारलाई गाडीको व्यवस्था सहित प्रति परिवार २० हजार रुपैँया सहयोग गरेको थियो। संस्कार सकिएर मृत्यु दर्ता भैसकेपछि प्रति परिवार १ लाख रपैँया सहयोग गर्ने कार्यपालिका बैठकबाट निर्णय भएको नगरप्रमुख विष्टले बताए।
- सुनिता विष्ट, नेपाल खबरबाट





























































प्रतिक्रिया दिनुहोस्