मकवानपुर थाहा नगरपालिकाकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ । थाहा नगरसभाको ७ असारमा भएको २०औं अधिवेशनमा नगर प्रमुख विष्णु बहादुृर विष्टले पेश गरेको नीति तथा कार्यक्रम सभाले सर्वसम्मत पास गरेको हो । थाहाले आगामि आर्थिक वर्षका लागि क्षेत्रगत रुपमा कुल २ सय वटा नीति लिएको छ ।

थाहा नगरपाकिाले आगामि आर्थिक वर्षभित्रै ‘थाहा शीतभण्डार’ निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने जनाएको छ । किसानहरुको खेतीयोग्य जमिनको माटो सुधारका कायएक्रम, जैविक विषादी र जैविक मलको प्रयोगमा प्रोत्साहन, कृषि सामग्रहरुमा अनुदानको कार्यक्रम ल्याएको छ । नगरपालिकाल बाँझो जमिनको उपयोग गर्ने नीति अनुरुप फलफूल खेती, कफी खेती, टिमुर खेती तथा बुद्धचित्तलगायत नगदेबाली, मसलाबालीको सम्भाव्यता अध्ययन गर्ने नीति लिएको छ ।

वडा कार्यालयहरुबाटै पशुहरुका लागि नियमित निःशुल्क उपचार तथा औषधि वितरण सेवा प्रदान गर्ने, विकट बस्तीहरुमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने नीपित थाहाको छ । सामुदायिक कुकुर नियन्त्रणका लागि कुकुर बन्ध्याकरण गर्ने थाहानगरको नीति छ ।

मकवानपुर र देशभरी पर्यटकीय नगरीको रुपमा परिचय स्थापित गरेको थाहा नगरपालिकाले संघीय सरकारले जारी गरेको राष्ट्रिय आरोग्य पर्यटन रणनीति अवलम्बन गर्दै ‘आरोग्य थाहानगर’ निर्माणका कार्यक्रम अघि सारेको छ । पर्यटकीय क्षेत्रबाट प्राप्त हुने राजश्वलाई सोही क्षेत्रको विकासमा प्राथमिकता निर्धारण गरी लगानी गर्ने नीतिमा उल्लेख छ । पर्यटन प्रवद्र्धनका लागि सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणाको कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको नीति छ । पैदलमार्ग प्रवद्र्धन, अन्तरपालिका परियोजनाहरु सञ्चालनलगायतको कार्यक्रम तय गरेको थाहाले वडा नम्बर ३ मा शंखमूल परिसरमा मोक्षधाम निर्माणको थालनी गर्ने बताएको छ । क्षेत्रमा पूर्वाधार निर्माणको कार्य थालनी गरिनेछ ।

नगरपालिकाले एकल महिला, महिला, अपाङ्गता, दलित तथा सीमान्तकृत समुदायबाट सञ्चालित व्यवसाय दर्तामा छुट दिने नीति लिएको छ । चालु कोष मार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराई व्यवसाय प्रवद्र्धनमा सहायता प्रदान गर्ने तथा व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गरिरहेका साथै व्यवसाय दर्ता गरी करको दायरामा आएका तर निष्कृय रहेका तथा व्यवसाय दर्ता खारेज गर्न चाहने व्यवसायीलाई विशेष छुटको व्यवस्था ल्याएको छ ।

थाहाले सहकारीहरूको अनुगमन प्रणालीलाई डिजिटल र व्यवस्थित बनाई वित्तीय सुशासन कायम गर्ने, सहकारीहरूलाई उत्पादन, संकलन र स्थानीय बजार प्रवद्र्धनमा प्रोत्साहन गर्ने नीति लिएको छ । क्षेत्रगत विशिष्टता भएका पर्यटन र स्वास्थ्य सहकारीलाई नगरको एकीकृत विकासमा अन्तरआवद्धता गर्न पहल गर्ने पनि थाहानगरको नीति छ ।

कन्सुलर सेवा विभागबाट प्रदान गरिने सेवाहरुको लागि नगरपालिकाबाटै सहजीकरणको व्यवस्था गर्ने, श्रम, सीप, रोजगार तथा उद्यमशीलतासँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरुलाई व्यवस्थित र प्रभावकारी ढंगले परिणाममुखी बनाउन कार्यविधिबमोजिम रोजगार, सीप तथा उद्यमशिलता केन्द्रलाई नगरपालिकाको संस्थागत संरचनाभित्र राख्ने नगरको नीति छ ।

नगरको धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्न बागमती प्रदेश सरकारको शिव सर्किट परियोजनामा समावेश भएका ६ ज्योतिर्लिङ्गसहित पालिका क्षेत्रका मुख्य धार्मिक क्षेत्रहरुलाई समेटी धार्मिक टे«ल तयार गरी प्रवद्र्धन गर्ने, पालुङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई परिचालन गर्दै विद्यार्थीहरुलाई पढ्दै कमाउँदै कार्यक्रमको चालु आर्थिक वर्षमा ‘पाइलट प्रोजेक्ट’ सञ्चालन गर्ने नीति लिएको छ ।

प्राकृतिक चिकित्सा, एक्युपञ्चर जस्ता वैकल्पिक चिकित्साका साथै आँखाको प्राथमिक उपचार सेवालाई एकीकृत रुपमा विस्तार तथा विकास गर्ने, क्षयरोगमुक्त पालिका घोषणाका लागि कार्ययोजना बनाई कार्यान्वयन गर्ने नगरको नीति छ । थाहा अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

‘खानेपानी सेवा पालिकाको अभिभारा, मिटरसहितको एक घर एक धारा’ नीतिलाई निरन्तरता दिँदै नागरिक खानेपानीको पहुँच विस्तार गर्ने नीति लिएको छ । खानेपानी, सडक, ढल व्यवस्थापन लगायतको कार्य गर्दा एक अर्को कार्यलाई असर नपर्ने गरी गरिनेछ । यसरी कार्य गर्दा असर परेमा असर पु¥याउने पक्षबाट मर्मत संभारको व्यवस्था मिलाउने नगरको नीति छ । समग्र थाहाको खानेपानी तथा सरसफाई व्यवस्थापनका लागि ‘अबको जोड सुरक्षित पानीका लागि खानेपानी बोर्ड’ नीति नगरको छ ।

नगरले खानेपानी सेवालाई एकीकृत र एकद्वार प्रणालीबाट सञ्चालन, योजनाहरुको कार्यान्वयन, खानेपानी समितिहरु, दर्ता, नवीकरण, अनुगमन तथा नियमन बोर्डमार्फत् गर्ने गरी एकीकृत सेवा प्रवाह गर्ने भएको छ । विकास साझेदारहरुसँगको सहकार्यमा आफ्नै खानेपानी परीक्षण प्रयोगशाला स्थापना गर्ने नीति लिएको छ ।

विद्यार्थी सङ्ख्या र भूगोलसमेतका आधारमा विद्यालयको समायोजन र शिक्षक दरबन्दी मिलानको कार्यलाई अघि बढाउने, विद्यार्थी अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरी न्यूनतम शिक्षकको व्यवस्था गर्ने नगरको नीति छ ।

स्थानीय पठ्यक्रम थाहा ज्ञानमालाको पुनरावलोकनसहित नैतिक शिक्षा समावेश गर्ने, तामाङ भाषाको पाठ्यक्रमको कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको थाहाले विद्यालयहरुको भौतिक पूर्वाधार लगायत व्यवस्थापन परीक्षण गरी वास्तविक अवस्था पहिचान गर्ने जनाएको छ ।

फुटबल, भलिबल र कराँते लगायतका खेलका प्रशिक्षक तथा रेफ्रीको रोष्टर तयार गर्ने, थाहा गोल्ड कप प्रतियोगितालाई निरन्तरता दिने नगरको नीति छ । मातृ तथा शिशु स्वास्थ्य प्रवद्र्धनका लागि स्तनपान कक्ष सेवाको विस्तार तथा संस्थागत व्यवस्थापनलाई सुदृढ गर्ने, महिलामैत्री सेवा प्रवाह सुनिश्चित गर्न सार्वजनिक कार्यालयहरूमा आवश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्ने नगरको नीति छ ।

थाहाले साना र टुक्रे योजनाहरूलाई संभव भएसम्म निरूत्सहित गर्ने नीति लिएको छ । बोलपत्र मार्फत योजना सञ्चालनलाई प्राथमिकता दिने बताउँदै उपभोक्ता समितिद्वारा साना प्रकृतिका कार्य मात्र गर्ने नीति अवलम्बन गर्ने जनाएको छ ।

भवन निर्माण आचारसंहितालाई कार्यान्वयन गरी नगरक्षेत्रभित्र विपद् उत्थानशील संरचना निर्माण गर्ने, विपद पश्चात् पुनः निर्माण कार्यलाई प्रभावकारी बनाउन ५ सदस्यीय प्राविधिक टोली गठन गरी परिचालन गर्ने नीतिमा उल्लेख गरेको छ ।

वन तथा वातावरणसम्बन्धी ज्ञान विद्यालय स्तरवाटै प्रदान गर्न सामुदायिक विद्यालयहरुमा इको क्लव गठन गरी सो क्लवमार्फत् वातावरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, फोहर व्यवस्थापनका लागि टोल विकास संस्था, व्यवस्थापन समितिको सहकार्यलाई प्राथमिकता दिने, पर्यापर्यटन विकास गर्नका लागि सामुदायिक वनसँग सहकार्य गरी पार्क तथा पिकनिक स्पटहरु निर्माण गर्ने थाहाको नीति छ ।

थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डसँगको साझेदारीमा खानेपानीको पाइप लाइन मार्फत दमकल जान नसक्ने तथा बाक्लो र पुराना बस्तीहरुमा फायर हाइड्रेन्टपोर्टेबल पम्मको व्यवस्थागर्ने नगरको नीति छ । नगर प्रहरीलाई विपद व्उवस्थापनको फोकल केन्द्रको रुपमा तोक्ने लगरपालिकाले नीति लिएको छ ।

नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली पूर्ण रुपमा कार्यान्वयन गर्ने नगरको नीति छ । कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल गर्ने, करार कर्मचारीहरुको योगदानमा आधारित बीमालाई निरन्तरता दिने थाहाको नीति छ ।

आन्तरिक लेखापरीक्षणलाई नियन्त्रण प्रणालीको विश्वसनीय माध्यमका रुपमा विकास गर्न जनशक्ति व्यवस्थापनको सुनिश्चितता गर्ने, विद्युतीय भुक्तानीलाई थप प्रभावकारी बनाउने, खर्चमा मितव्ययिता र वित्तीय अनुशासन कायम गर्ने नगरको नीति छ ।

नगरको सार्वजनिक सुरक्षाका लागि संवेदनशील तथा महत्वका क्षेत्रहरूमा थप सिसिटिभी क्यामरा जडान गर्ने, सार्वजनिक हितका सूचना तथा सन्देशहरू लक्षितवर्गसम्म पु¥याउनका लागि आमसञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने नीति छ । नागरिकले तिर्नुपर्ने कर, राजस्व तथा महशुल अनलाइन माध्यमबाट घरमै बसेर तिर्न सकिने व्यवस्था गर्ने थाहाले बताएको छ ।

ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिका, अपाङ्कता भएका व्यक्ति तथा अन्य लक्षित वर्गलाई सामाजिक सुरक्षा कार्यक्रममा पूर्ण पहुँच सुनिश्चित गर्ने, राष्ट्रिय परिचयपत्र, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीबीच तथ्याङ्क एकीकरण तथा समन्वयलाई प्रभावकारी बनाउने थाहानगरको नीति छ । थाहाले राष्ट्रिय परिचयपत्र तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी सेवामा पहुँच नपुगेका दूर्गम तथा लक्षित समुदायसम्म घुम्ती सेवा सञ्चालन गर्ने, सामाजिक सुरक्षा र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति लिएको छ । न्यायमा पहुँच, निशुल्क कानुनी सहायता, विवाद समाधान, वैकल्पिक उपाय र मेलमिलाप गर्ने नीति थाहाको छ ।

नीति तथा कार्यक्रमको पुर्णपाठ:

powered by Advanced iFrame