गत १० भाद्रमा रसुवामा भोटेकोशीमा आएको बाढीमा परी वेपत्ता भएका रामेश्वर लामाको परिवारलाई उनीसँगै पढेका ‘ब्याची’ साथीहरुले आर्थिक सहयोग गरेका छन् । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ निवासी रामेश्वरसँगै जनकल्याण माविबाट वि.सं. २०५९ सालमा एसएलसी परीक्षामा सहभागी भएका उनका साथीहरुले स्वतस्फूर्त रुपमा संकलन गरेको १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन् ।

रामेश्वरका ‘ब्याची’ साथीहरुले आफूहरु मध्येबाट संकलन गरेको उक्त रकम रामेश्वरकी श्रीमती सुनिता लामालाई उनकै निवासमा पुगी ३१ असोजमा हस्तान्तरण गरेका हुन् । पेशाले सावारी चालक रहेका रामेश्वर १० भाद्रको बाढीमा परी बेपत्ता भएका हुन् । उनको शव एक महिनासम्म पनि नभेटेपछि उनको काजक्रिया २८ असोजमा गरी सकिएको छ ।
थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामाको उपस्थितीमा रकम सहयोग रहकम हस्तान्तरण गरिएको थियो । साथीको परिवारमा भएको दुःखमा आत्मीयता र सद्भाव प्रस्तुत गर्दै सहयोग रकम जुटाइएको विजयविक्रम श्रेष्ठले प्रतिक्रिया दिए । सहपाठीको निधनबाट परिवारमा परेको पीडाका बीच छोरा लोपसाङ लामाको शिक्षालाई निरन्तरता दिन सहयोग पुगोस् भन्ने भावनाका साथ आर्थिक सहयोग जुटाइएको श्रेष्ठले बताए ।

सहपाठीहरूले गरेको यो सहयोगले आर्थिक रूपमा मात्र नभई पीडामा रहेका परिवारलाई भावनात्मक रूपमा हौसला प्रदानमा सहयोग मिल्ने सुरज भुजेलले विश्वास व्यक्त गरे । दुःखमा परेका साथी रामेश्वरका परिवारका लागि सहयोग गर्नुहुने सबै साथीहरुप्रति उनले आभार व्यक्त गरे । रामेश्वरका साथीहरुले दिवंगत रामेश्वर लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
जनकल्याण माविबाट वि.सं. २०५९ सालका एसएलसी ब्याचीहरुले यस अघि पनि आफ्ना साथीहरुलाई समस्या तथा दुःख पर्दा आर्थिक सहयोग जुटाउँदै सहयोग गर्दै आएका छन् ।















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्