नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर रिजन ढकाललाई गृहजिल्ला मकवानपुरमा भव्य स्वागत गरिएको छ। चितवन राइनोजबाट प्रतियोगिता खेलेका ढकालले नौ खेलमा १७ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।

उनले प्रतियोगितामा दुई महत्वपूर्ण व्यक्तिगत पुरस्कार हात पारे। ढकालले ‘उत्कृष्ट नेपाली खेलाडी’ घोषित हुँदै ओमोडा एन्ड जेइको कार प्राप्त गरे भने प्रतियोगिताकै उत्कृष्ट बलर बनेर पल्सर मोटरसाइकल जिते। प्रतियोगिताभर निरन्तर प्रभावशाली बलिङ गरेका उनले आफ्नो प्रदर्शनमार्फत मकवानपुरको क्रिकेटलाई राष्ट्रियस्तरमा चिनाएका छन्।

उनको यही सफलताको खुसी साट्न मकवानपुर जिल्ला क्रिकेट संघ, हेटौँडा उपमहानगरपालिका–२ का जनप्रतिनिधि तथा स्थानीयले स्वागत कार्यक्रम आयोजना गरेका हुन्। हेटौँडाको कांग्रेस चोकमा आयोजित कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडासदस्य सुरज बर्तौलालगायत स्थानीयको उपस्थिति थियो।

कार्यक्रममा स्थानीयले ढकाललाई फूलमाला तथा खादा लगाएर स्वागत गरेका थिए। क्रिकेटमा उनले हासिल गरेको उपलब्धिले हेटौँडा र मकवानपुरको गौरव बढाएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्।

पालिका प्रेस
थप जानकारी