काठमाडौंमा उपचार गराउनुपर्ने थाहा नगरपालिकाका नागरिकले अब विभिन्न अस्पतालमा विशेष छुट पाउने भएका छन्। नगरपालिकाका १२ वटै वडाका बासिन्दालाई लक्षित गरी काठमाडौं मेडिकल कलेज (केएमसी) र सम्बन्धित अस्पतालहरूसँग स्वास्थ्य उपचार सहुलियतको व्यवस्था गरिएको हो।

सम्झौताअनुसार भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गराउँदा थाहावासीले ५० प्रतिशत छुट पाउनेछन्। त्यस्तै, सिनामंगलस्थित अस्पतालमा २५ प्रतिशत र विराटनगरको नोबेल अस्पतालमा उपचार गराउँदा २० प्रतिशत छुट उपलब्ध हुनेछ।

उपचारका क्रममा बिरामीले ओपीडी तथा रजिस्ट्रेसन कार्डको शुल्क तिर्नुपर्ने छैन। जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, अपरेसन थिएटर र प्रयोगशालाका परीक्षण सेवामा समेत २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

यो सुविधा लिन अस्पताल पुग्ने बिरामीले सम्बन्धित पक्षबाट जारी गरिएको सिफारिसपत्र वा ह्वाट्सएप ग्रुपमार्फत पठाइएको सिफारिस देखाउनुपर्नेछ। स्वास्थ्य बीमा नगराएका तथा बीमाबाट प्राप्त हुने सुविधा पूर्ण रूपमा उपयोग गरिसकेका बिरामीले पनि सम्झौताअनुसार छुट पाउनेछन्।

यसैक्रममा थाहा नगरपालिकाका नागरिकलाई उपचारमा सहुलियत उपलब्ध गराउन मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग पनि सम्झौताको तयारी भइरहेको छ। थाहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राजेन्द्र भक्त श्रेष्ठले नगरपालिकाका १२ वटै वडाका नागरिकलाई उपचारमा छुट उपलब्ध गराउन अस्पताललाई पत्राचार गरेका छन्।

अस्पतालसँगको सहकार्यले उपचारका लागि काठमाडौं पुग्ने थाहावासीलाई आर्थिक भार कम गर्न र स्वास्थ्य सेवामा पहुँच सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

पालिका प्रेस
थप जानकारी