मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी स्थित क्षेत्रीय कारागारका ५१ जना कैदीबन्दीले पहिलो पटक छठ पर्व मनाउने भएका छन् । विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा रहेका एक महिलासहित ५१ जना कैदीबन्दीले कारागारभित्रै छठ पर्व मनाउन लागेका हुन् ।
तीनवटा ब्लक रहेको उक्त कारागारमा ‘क’ ब्लकका ३२ जना, ‘ख’ ब्लकका १८ जना र महिला ब्लककी एक महिलाले छठ पर्व मनाउने तयारी गरेको जेलर पुष्कर रानाले बताए । ‘छठ पर्व मनाउन आवश्यक पर्ने सामग्रीको व्यवस्था गरिदिएका छौं,’ उनले भने ।
जेल प्रशासनले कैदीबन्दीको धार्मिक आस्थाको सम्मान गर्दै उनीहरूलाई कारागारभित्रै छठ पर्व मनाउने व्यवस्था मिलाएको हो । ‘आ–आफ्नो ब्लकमा छुट्टाछुट्टै रूपमा पर्व मनाउने प्रबन्ध गरिदिएका छौं,’ जेलर रानाले भने । कैदीबन्दीले शान्तिपूर्ण र श्रद्धापूर्वक छठ पर्व मनाउन जेल प्रशासनले सहयोग गरेको उनले बताए । कैदीबन्दीलाई यो पर्व मनाउन सरकारले छुट्टै आर्थिक सुविधा भने उपलब्ध गराएको छैन ।
कारागारभित्रै धार्मिक विधिअनुसार छठ मनाउने व्यवस्था भएपछि कैदीबन्दीले पनि आफ्नो आस्था र परम्परालाई निरन्तरता दिन पाएका छन् । भीमफेदी कारागारमा महिला कैदीबन्दी ५५ जना छन् भने पुरुष कैदीबन्दी दुईवटा ब्लकमा ९ सय ३५ जना छन् । तीमध्ये तराई–मधेशका करिब २ सय जनाभन्दा बढी छन् ।














































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्