बागमती प्रदेश सरकारले एकैपटक ३३६ जना प्रशासनिक तथा प्राविधिक कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको छुट्टाछुट्टै निर्णयबाट विभिन्न तह र सेवाका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो ।

बागमती प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न सेवाका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । कार्यालयको वेबसाइटमा प्रकाशित विवरणअनुसार कार्तिक १७ र १८ गतेका निर्णयबाट प्रदेश इन्जिनियरिङ सेवा, प्रशासन सेवा तथा विभिन्न तहका कर्मचारीको सरुवा गरिएको हो ।

कार्तिक १७ गतेको निर्णयअनुसार प्रदेश इन्जिनियरिङ सेवाअन्तर्गतका २२ जना कार्यालय प्रमुखको सरुवा तथा पदस्थापन गरिएको छ । उनीहरू खानेपानी डिभिजन र सिँचाइ डिभिजन कार्यालयलगायतका कार्यालयमा कार्यरत प्रमुखहरू हुन् ।

त्यस्तै, कार्तिक १८ गतेको निर्णयअनुसार नायब सुब्बा तथा सहायक अधिकृत तहका ५१ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको छ । प्रदेशका विभिन्न मन्त्रालयअन्तर्गत कार्यरत उनीहरूलाई नयाँ जिम्मेवारीसहित पदस्थापन गरिएको हो ।

सोही दिन प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूहका शाखा अधिकृत तथा वरिष्ठ शाखा अधिकृत तहका १४२ जना कर्मचारीको पनि सरुवा तथा पदस्थापन गरिएको छ । यससँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयबाट मात्रै २१५ जना कर्मचारीको सरुवा तथा पदस्थापन भएको छ ।

यसैगरी, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका मात्र १४३ जना कर्मचारीहरुको सरुवा भएको हो । खानेपानी र सिंचाइ डिभिजन कार्यालयका प्रमुखहरु सहित १४३ जना कर्मचारीको एकैपटक सरुवा गरिएको छ । मन्त्रालयका सचिव इन्द्रदेव भट्टको निर्णयअनुसार मन्त्रालयअन्तर्गतका विभिन्न पद र कार्यालयमा कार्यरत कार्यालयका प्रमुख भन्दा बाहेकका कर्मचारीको एकैपटक सरुवा गरिएको छ । मन्त्रालयअन्तर्गतका खानेपानी तथा सिँचाइसम्बन्धी कार्यालयमा कार्यरत कर्मचारीलाई नयाँ जिम्मेवारी दिइएको हो । केहीको भने पहिलेकै कार्यालयमा पदस्थापन गरिएको छ ।

प्रदेश सरकारले छोटो अवधिमै विभिन्न सेवा, समूह र तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेपछि प्रशासनिक वृत्तमा यसको चर्चा बढेको छ । विशेषगरी खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका मात्रै १४३ जना कर्मचारीको सरुवा हुनुलाई यसपटकको सरुवाको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ ।

खानेपानी मन्त्रालयबाट एकै पटक धेरैैजसो कर्मचारीको सरुवा गरिएपनि पहुँच भएका कर्मचारीको रोजाइ काठमाण्डौं उपत्यका, हेटौंडा, चितवन, काभ्रेपलान्चोक लगायतका जिल्लामा रहेको छ । पहुँच र भनसुनका आधारमा कर्मचारीहरुले आफ्ना सरुवा सुगम जिल्लामारेका छन् । विकट जिल्ला र फिल्डमा जानका लागि झनै समस्या भएका जिल्लामा बषौ देखि काम गर्दै आएका कर्मचारीहरुलाई भने उनै विकट जिल्ला वरपर मात्र सारिएको छ ।

यसैबीच स्थानीय तहको कर्मचारी सरुवामा भने प्रदेशले आँट गर्न सकेको छैन । यद्यपि सरुवा सहमती लिएर सरुवा गरिरहेको छ ।

हेर्नुहोस नामावली:

powered by Advanced iFrame

powered by Advanced iFrame

powered by Advanced iFrame

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी