बागमती प्रदेशका विभिन्न स्थानमा असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म हावाहुरी, मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला, कानून तथा सरकारी मन्त्रालयले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनलाई उद्धृत गर्दै वर्षाका कारण हुनसक्ने सम्भावित विपद्बाट जोगिन पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको हो । भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव तीव्र रूपमा बढ्न सक्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।
वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले अति आवश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको छ । नदी तथा खोला किनार, भिरालो जमिन, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ । जोखिमको पूर्वसंकेत देखिएमा नजिकैको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग निरन्तर समन्वयमा रहन आग्रह गरिएको छ । त्यस्तै, बालबालिका, ज्येष्ठ नागरिक, अपाड्डता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ ।
पशुचौपाया, खाद्यान्न, आवश्यक औषधि तथा महत्त्वपूर्ण कागजात सुरक्षित स्थानमा राख्न पनि मन्त्रालयले आग्रह गरेको छ । प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा सम्बन्धित सबै निकायलाई सम्भावित आपत्कालीन अवस्थाका लागि आवश्यक पूर्वतयारीसहित तयारी अवस्थामा रहन निर्देशन दिएको छ । विपद्का बेला बाढी तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न सकिने जनाइएको छ । मन्त्रालयगत सम्पर्कका लागि ९७६९७६१२१४ नम्बर उपलब्ध गराइएको छ ।
















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्