भोटेकोशीको बाढीले एक दर्जन भन्दाबढी जलविद्युत आयोजना क्षतिग्रस्त बनाएपछि मकवानपुरको कुलेखानी जलविद्युत आयोजनालाई विद्युत उत्पादनको दबाव परेको छ । भदौ १० मा गएको भोटेकोशी बाढीका कारण ४ सय मेगावाट भन्दाबढी विद्युत उत्पादन ठप्प भएकाले मुलुकमा रहेका अन्य जलविद्युत आयोजनालाई उत्पादनको दबाव परेको हो।
कुलेखानीका तीन वटै आयोजनाबाट अहिले चौबिसै घन्टा विद्युत उत्पादन भइरहेको छ । कुलेखानी आयोजनाका दुईवटा जेनेटरमध्ये एउटा जेनेटर मर्मत भइरहेको छ । अर्को एक जेनेरेटरले विद्युत उत्पादन गरिहेको छ । कुलेखानी प्रथमले ६० मेगावाट विद्युत उत्पादन गर्छ । कुलेखानी प्रथम संचालन भएपछि दोस्रो र तेस्रोबाट पनि विद्युत उत्पादन हुन्छ ।
भोटेकोशीको बाढीले रसुवा र नुवाकोटमा रहेका जलविद्युत आयोजनालाई क्षति पुर्याएर त्यहाँबाट विद्युत उत्पादन ठप्प भएकाले कुलेखानीका तीन वटै आयोजना संचालन गर्नुपरेको कुलेखानी जलविद्युत आयोजना प्रथमका प्रमुख प्रल्हाद राउतले बताए । बाढीका कारण ४ सय भन्दाबढी मेगावाट विद्युत उत्पादन बन्द भएपछि कुलेखानीलगायत मुलुकका अन्य जलविद्युत आयोजनालाई दबाव परेको उनले बताए ।
नेपाल विद्युत प्राधिकरणको व्याकअपको रुपमा रहेको कुलेखानी आयोजनाको जलाशयबाट दैनिक २० देखि २५ सेन्टिमिटर पानी खपत भइरहेको छ । कुलेखानी जलाशयमा दैनिक १५ देखि १८ सेन्टिमिटर पानी संकलन हुने गर्छ।
कुलेखानीको जलाशय ईन्द्रसरोवरको सतह शुक्रबार दिउँसो २ बजेसम्म १ हजार ५ सय २२ दशमलब ४६ सेन्टिमिटर पुगेको छ । कुलेखानीको जलाशय भरिन अझै साढे सात मिटर बाँकी छ । कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटरसम्म पानी अट्ने क्षमता छ ।
२०७२ सालको भूकम्पले जलाशयको ड्याम चिरा परेकाले १ हजार ५ सय २७ मिटर पानी संकलन भएपछि प्राधिकरणले सतर्कता अपनाउने गरेको छ । भूकम्पपछि जापानका प्राविधिकले गरेको अध्ययनपछि जलाशयमा १ हजार ५ सय २७ मिटरसम्म पानी संकलन गर्न सहजै सकिने सुझाव दिएको थियो । ‘विगतका वर्ष जस्तो वर्षायाममा संचालन नगरिएको भए यतिबेला कुलेखानी जलाशय भरिसक्थ्यो,’ कुलेखानी प्रथमका एक वरिष्ठ अधिकृतले भने, भोटेकोशीको बाढीपश्चात कुलेखानीका तीन वटै आयोजनाले चौबिसै घन्टा विद्युत उत्पादन गरिरहेका छन् ।’ विगतका वर्षमा कुलेखानीबाट सुक्खायाममात्र विद्युत उत्पादन गरिँदै आएको थियो । जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले ईन्द्रसरोवरमा पानी संकलन हुने क्रम बढ्दो छ भने खपत पनि भइरहेको छ । जलाशयमा पानीको सहत १ हजार ४ सय ८३ मिटर तल झरेपछि विद्युत उत्पादन गर्न सकिँदैन ।
कुलेखानी जलाशयको ४७ मिटर पानी विद्युत उत्पादनमा उपयोग गर्न सकिन्छ । कुलेखानी प्रथमबाट ६० दोस्रोवाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत उत्पादन हुने गर्छ । जलाशयमा संकलन गरेको पानीबाट तीन वटै आयोजनाले विद्युत उत्पादन गर्छन् । ३ सय मिटर चौडाई र सात किलोमिटर लम्बाइ रहेको कुलेखानीको जलाशयको मार्खु क्षेत्रको तल्लो भाग जलाशयको पानीले ढाकिसकेको छ । कुलेखानी नेपालको ठूला योजनामध्ये एक जलविद्युत उत्पादन गृह हो ।
विद्युत उत्पादन घट्दै
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत आयोजनाको जलाशयको पिंधको सतह बढेकाले ६ करोड ३३ लाख युनिट विद्युत उत्पादनमा कमी आएको प्राधिकरणले ५ वर्षअघि गरेको सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
कुलेखानी जलाशयको पानी संकलनको क्षमता न्यून हुँदै गएकाले विद्युत उत्पादनमा पनि कमी आएको हो । सुरुमा जलाशयमा संकलन गरिएको पानीबाट २१ करोड ११ लाख युनिट विद्युत उत्पादन हुने गर्थ्यो । अहिले त्यो क्षमतामा ह्रास आएर १४ करोड ४७ लाख युनिटमात्र विद्युत उत्पादन गर्ने क्षमता रहेको छ । जलाशयको पानी संकलनको क्षमतामा नै ह्रास आएकाले विद्युत उत्पादनमा कमी आएको हो । वर्षेनी जलाधार क्षेत्रबाट खोलाले बगाएर ल्याउने ढुङ्गा, माटो, बालुवा र पातपतिंगर जलाशयमा थुप्रिने गर्दा सरोवरको सतह बढेकाले पानी अट्ने क्षमता साँघुरिँदै गएको हो । सुरु संचालनको अवस्थामा कुलेखानी जलाशयमा ८५ दशमलब ३ मिलियन क्युसेक पानी अट्ने क्षमता थियो, त्यो क्षमता ५ वर्षअघि ५९ दशमलव ९९ मिलियन क्युसेकमा झरेको पाइएको प्राधिकरणको भनाइ छ ।
२०३९ सालमा कुलेखानी जलविद्युत आयोजना प्रथम संचालनमा आउँदा जलाशयमा संकलन भएको पानीमध्ये ५७ मिटर पानी विद्युत उत्पादन गर्न प्रयोग गर्न सकिन्थ्यो । २०५० सालको बाढीपछि जलाशयमा संकलन भएकोमध्ये ५० मिटरमात्र पानी विद्युत उत्पादन गर्न सकिन्थ्यो । हाल करिब ४६ मिटरमात्र पानी विद्युत उत्पादन गर्न प्रयोग गर्न सकिन्छ ।
जलाशयमा ‘डेव्रिज’हरु यसरी थुप्रिँदै गएपछि विद्युत उत्पादन गर्न प्रयोग गर्न सकिने पानीको सतह न्यून हुँदै गएको हो । २०५० सालमा आएको बाढीले जलाशयको पिंधको सतह ६ मिटर बढेको थियो । वर्षेनी जलायशको सतह वृद्धि हुँदै गएको छ । जलाशयमा अहिले १ लाख ७० हजार मिटर क्युब ‘डेब्रिज’ संकलित भएको कुलेखानी प्रथमका एक इन्जिनियर बताए । ईन्द्रसरोवरमा संकलित पानीलाई प्रयोग गर्ने उद्देश्यले कुलेखानी पहिलो, दोस्रो र तेस्रो निर्माण गरेको हो । जलाशयको तल्लो सतह बढेर पानी संकलन गर्ने क्षमतामा कमी आएपछि कुलेखानीका तीन वटै विद्युत उत्पादन गृह प्रभावित हुने छन् । विज्ञहरुले यो जलाशयको आयु ५० वर्ष तोकेका छन् । जलाशयमा संकलन भएको ढुङ्गा, माटो र लेदोहरु झिक्नका लागि जलाशय पूरै खाली गर्नुपर्छ । इन्द्रसरोवरको निर्माण १ करोड २० लाख अमेरिकन डलरमा गरिएको थियो । कान्तिपुरबाट साभार ।
प्रतिक्रिया दिनुहोस्