बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका नागरिकको अन्तिम संस्कार तथा काजकिरियाका लागि पीडित परिवारलाई प्रतिमृतक २५ हजार रुपैयाँका दरले तात्कालिक राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री किरण थापामगरले प्रदेश सुशासन केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिँदै विपद्को यस दुःखद घडीमा प्रभावित परिवारलाई राहत तथा उद्दार प्रदान गर्न र भत्किएका सडक, पुललगायतका भौतिक संरचनाको पुनर्निर्माणलाई सरकार ले उच्चप्राथमिकतामा राखेको बताए ।
गत भदौ १० देखि १२ गतेसम्म तीन दिन मुख्यमन्त्रीको नेतृत्वमा मन्त्रीसहितको उच्चस्तरीय टोलीले बाढीप्रभावित क्षेत्रमै पुगेर खोज, उद्दार, घाइतेको उपचार, अस्थायी आवास र सुरक्षित आवागमनको कार्यलाई प्रत्यक्ष निगरानी गरेको उनले जानकारी दिए । मुख्यमन्त्री थापामगरले बाढीका कारण घरबारविहीन हुनपुगेका नागरिकका लागि प्रदेश सरकारको तर्फबाट सुरक्षित अस्थायी बसोबास तथा भोजनको सम्पूर्ण प्रबन्ध मिलाइएको स्पष्ट पारे । उद्दार र राहतकार्यलाई अझ छिटो, प्रभावकारी र जनमुखी बनाउन बाढीबाट सकुशल उद्दार गरिएका प्रभावित व्यक्तिहरु तथा सनाखत भएका शवलाई उनीहरुको सम्बन्धित ठेगानासम्म सम्मानसाथ पु¥याउन लाग्ने यातायात तथा ढुवानीको सम्पूर्ण खर्च पनि बागमती प्रदेश सरकारले नै बेहोर्ने उनले बताए ।
प्रदेश विपद् व्यवस्थापन कोषमार्फत् सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा आवश्यक रकम पठाइने र आर्थिक अभावका कारण पहिचान भएका शवहरु पनि आफन्तले घर लैजान नसक्ने अवस्था आएमा त्यसका लागि लाग्ने सबै खर्च प्रदेश सरकारले नै व्यहोर्ने उनले प्रष्ट पारे । यसकार्यका लागि प्रदेश सरकारले रसुवा र नुवाकोटका स्थानीय विपद् व्यवस्थापन कोषमा प्रतिजिल्ला एक करोडका दरले दुई करोड रुपैयाँ तथा धादिङ र चितवन जिल्लालाई ५०÷५० लाखका दरले जम्मा तीन करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसका साथै, गोसाइँकुण्ड, कैलाश मानसरोवर तथा अन्य धार्मिक यात्राका क्रममा बाटोमै अलपत्र परेका तीर्थयात्रीको सुरक्षित आवागमनका लागि गत दुई दिनदेखि निःशुल्क बससेवा सञ्चालन गरिएको उनले बताए ।
बाढीका कारण त्रिशूली– धुन्चे सडकखण्ड र त्रिशूली–गल्छी हुँदै काठमाडौँ जोड्ने मुख्य मार्गहरु अवरुद्ध भएको अवस्थामा वैकल्पिक सडकमार्ग तत्काल खुलाएर आवागमन सुचारु गराउने काम भइरहेको छ । भदौ १० गते नै नुवाकोटको विदुरस्थित विभिन्न चार स्थानमा अस्थायी आश्रयस्थल तथा खानेकुराको प्रबन्ध गर्नुका साथै चार वटा ठाउँमा विशेष स्वास्थ्य शिविर सञ्चालन गरिएको मुख्यमन्त्रीले जानकारी दिए । पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले मुख्यमन्त्रीको टोली धुन्चे पुगेपछि ६०० लिटर डिजेल र पेट्रोलको व्यवस्था मिलाएर स्थानीय अस्पताल, यातायात सेवा र बिग्रिएका टेलिकम टावर सञ्चालनमा ल्याइएको बताए । सडकमार्गमा रहेका ४० भन्दा बढी पुल भत्किँदा अवरुद्ध बनेको यातायात आवागमनको वैकल्पिक व्यवस्थास्वरुप सम्भावित स्थानमा बेलिब्रिज, झोलुड्डे पुल तथा साझाकुरा संवाददाता तुइन निर्माणका लागि आवश्यक स्थानको पहिचान गरी सोहीअनुसार शीघ्र व्यवस्थापन गरिने उनले जानकारी दिए ।
नुवाकोटको छहरे, चौघडा, बाहुनबेसी, नर्जामण्डप, लच्याङ, सरमथली पार्टीखर्क, हिल्चेकको पुल, भोर्ले, जिरोकिलो र पासाङल्हामु राजमार्ग हुँदै धुन्चेसम्मका वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने कार्यलाई अहिले तीव्रगति दिइएको मन्त्री केसीको भनाइ छ । प्रभावित क्षेत्रमा खटिएका वा कार्यरत प्रदेश सरकार अन्तर्गतका सबै कर्मचारीहरूलाई अर्को आदेश नभएसम्म आआफ्नो कार्यस्थल नछोड्न र सार्वजनिक बिदाका दिनहरूमा समेत निरन्तर रूपमा उद्धार, राहत तथा पुनःस्थापनाको काममा खटिन सख्त निर्देशन दिइएको उनले बताएका छन् । प्रदेश सरकारले कठिन परिस्थितिमा धैर्य र संयम अपनाउन प्रभावित नागरिकलाई आग्रह गरेको छ । उद्दार, राहत तथा पुनःस्थापनामा संघीय सरकार, स्थानीय तह, सुरक्षा निकाय, विभिन्न दातृ निकाय तथा सहयोगी संस्थासँग निरन्तर समन्वय भइरहेको जनाएको छ । प्रदेश सरकारले उद्दार, राहत तथा पुनर्निर्माणमा सहयोग गर्न चाहने संघीय सरकार, अन्य प्रदेश सरकार, स्थानीय तह, देश– विदेशमा रहेका सहयोगी व्यक्ति तथा संघसंस्थालाई बागमती प्रदेश सरकारको विपद् व्यवस्थापन तथा राहत कोषमा सहयोग गर्नसमेत आग्रह गरेको छ ।













































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्