मकवानपुरको बकैया गाउँपालिका–९ शिखरपुरस्थित एक किसानको गाईमा रेबिज रोग भएको पुष्टि भएपछि उच्च सतर्कतासँगै रोकथामलाई तीव्र बनाइएको छ । स्थानीय कृषक प्रकाश नेपालको गाईमा रेबिज रोग पुष्टि भएपछि गाउँपालिकाको पशुपन्छी शाखाले उच्च सतर्कता अपनाउँदै गाई गोठलाई सङ्क्रमणमुक्त गर्ने, रोगनियन्त्रण, निगरानी तथा जनचेतनामूलक अभियानलाई तीव्रता दिएको हो ।

पशुपन्छी शाखाका पशुसेवा प्राविधिक अमिन अन्सारीले जुनोटिक रोग अर्थात् पशुबाट मानिसमा सर्ने प्रकृति भएको भन्दै यो रोगले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने भएकाले समयमै सावधानी र खोप लगाउनु अनिवार्य रहेको बताए । शिखरपुर क्षेत्रमा पशुपन्छीको उपचारको क्रममा एक गाईमा रेबिज रोगसँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै गाईको मरेको खबरपछि तत्काल पशुपन्छी शाखाबाट डा. अविनाश ठाकुर, पशुप्राविधिक अन्सारी, अजय बर्तौला र हेटौंडाबाट मोहित साहसहितको प्राविधिक टोली घटनास्थल पुगेर आवश्यक निरीक्षण तथा प्रारम्भिक परीक्षण गरेको थियो ।

गाईको नमुना रेबिज द्रुतपरीक्षण कीटमार्फत परीक्षण गर्दा प्रारम्भिकरुपमा पोजेटिभ देखिएपछि रोगको यकिन पुष्टि गर्न नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा थप परीक्षणका लागि पठाइएकोमा रेबिज पुष्टि भएको पशुसेवा प्राविधिक अन्सारीले बताए । पशुसेवा प्राविधिक अन्सारीले भदौ २ गते रेबिज पुष्टि भएसँगै गाईपालक किसानसहित परिवारका सदस्यलाई रेबिज रोग विरुद्धको खोपको पहिलो मात्रा बकैयास्थित आधारभूत अस्पतालमा लगाइसकिएको र थप दुई मात्रा लगाउन बाँकी रहेको सुनाए । ‘रेबिज रोगका कारण मरेको गाईगोठमा रहेका गाईबस्तुलाई सोमबार रेबिज रोगविरुद्धको खोप लगाइने छ’ उनले भने, ‘गाईगोठ रहेको क्षेत्रमा सरसफाईसँगै सङ्क्रमणुमक्त गर्ने कार्य भइसकेको छ ।’ पशुपन्छी शाखाका पशु चिकित्सक डा. ठाकुरले मरेको गाईमा रेबिज पुष्टि भएकोले गाई सम्पर्कमा आएका र लसपस भएका व्यक्तिले रेबिजविरुद्धको खोप लगाएर सुरक्षित हुनुपर्ने सुझाव दिए । उनले शंकास्पद पशुसँग प्रत्यक्ष सम्पर्क नगर्न, पशुलाई अनावश्यकरुपमा नछुन तथा जोखिममा रहेका पशुलाई समयमै खोप लगाउन अनुरोध गरेका छन् ।

गाईधनीले पाँच–छ महिनाअघि मात्र गाई किनेर ल्याएकोले कहाँबाट र कसरी रेबिज सङ्क्रमण भएको हो यकिन हुनसकेको छैन । खुला ठाउँमा गाईपालन गरेकोले स्यालको टोकाईबाट पनि रेबिज सङ्क्रमण भएको हुनसक्ने आशंका गरिएको छ । पालिकाभित्रै अर्को एक वडामा पनि पशुमा रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएकोले सतर्कता अपनाउन पालिकाले आग्रह गरेको छ । पशुपन्छी शाखाले यो वर्ष जुनोटिक रोगविरुद्ध विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको पशुसेवा प्राविधिक अन्सारीले बताए । जुनोटिक रोग पशुपन्छी, जनावर वा कीराबाट मानिसमा सर्ने सरुवा रोग हो । यो रोग ब्याक्टेरिया, भाइरस, परजीवी वा ढुसीका कारण हुन्छ ।

पालिका प्रेस
थप जानकारी