हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक कृषि थोक बजार निर्माण सम्पन्न भएको करिब एक वर्षपछि सञ्चालनमा आउने भएको छ ।
बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको बजारलाई आगामी भदौ अन्तिम सातादेखि सञ्चालनमा ल्याउन थालिएको हो । कृषि विकास निर्देशनालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजारको निर्माण सम्पन्न गरिएको हो । ३० करोड ८७ लाख रुपैयाँको लगानीमा थोक बजार निर्माण गरिएको हो ।
कृषि थोक बजार सञ्चालनमा आएपछि यस क्षेत्रका कृषकले उत्पादन गरेका बस्तुले सहज ढंगले बजार पाउने छन् भने कृषि क्षेत्रका बिचौलियाहरूको अन्त्य हुने अपेक्षा गरिएको छ । थोक बजारमा कृषिजन्य बस्तुको उपयुक्त भण्डारण, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतका सुविधा हुने छन् । थोक बजारले कृषकले न्यून मूल्य पाउने तर उपभोक्ताले चाहेअनुसार गुणस्तरीय उपज नपाउने र उपभोक्ता मूल्यको मारमा पर्ने समस्यासमेत समाधान गर्ने अपेक्षा गरिएको कृषि विकास निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठले बताए ।
२०८२ साउन १८ गते निर्माण सम्पन्न गरी हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको थोक बजार सञ्चालनसम्बन्धी कार्यविधि नबन्दा लामो समयदेखि प्रयोगविहीन बनेको थियो । यसैबीच जेनजी आन्दोलनका क्रममा बजारका संरचनामा आगजनी तथा तोडफोड भएपछि सञ्चालन प्रक्रिया थप प्रभावित भएको थियो । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा आवश्यक पुनर्निर्माण गरेपछि बजार अहिले सञ्चालनका लागि तयार भएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वैशाख मसान्तमा ‘प्रदेश कृषि थोक बजार सञ्चालन निर्देशिका, २०८३’ जारी गरेपछि बजार सञ्चालनको कानुनी बाटो खुलेको हो । निर्देशिकाले बजारको नियमन प्रदेश सरकारबाट हुने तथा संरचना र सम्पत्तिको स्वामित्व भने हेटौंडा उपमहानगरपालिकामा रहने व्यवस्था गरेको छ ।
निर्देशिका अनुसार हेटौंडा उपमहानगरपालिकाका प्रमुखको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति रहनेछ । समितिमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा नं ११ का वडाध्यक्ष, आर्थिक विकास समितिका संयोजक, उद्योग वाणिज्य मन्त्रालयका प्रतिनिधि, प्रदेशका कृषकमध्ये एक महिलासहित दुई जना, कृषि थोक व्यवसायी दुई जना, दर्तावाला पशु चिकित्सकमध्ये एक जना, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधि, आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रतिनिधि तथा कार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रतिनिधि तोक्न बाँकी रहे पनि अन्य सदस्यको टुंगो लागिसकेको थोक बजारका कार्यकारी निर्देशक टीका काफ्लेले बताए । यसबीचमा संचालक समितिको बैठकसमेत तीनपटक बसिसकेको उनले बताए । बजारबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सोही परिसरमा ड्रागन फ्रुट्स महोत्सव र कृषि महोत्सवसमेत आयोजना गरिएको थियो । ड्रागन महोत्सवमा करिब २५ लाख बराबरको १० मेट्रिक टन ड्रागन फ्रुट्स बिक्री भएको थियो । बजार सञ्चालनका लागि सटर तथा व्यापारिक क्षेत्रको भाडा निर्धारण गर्ने प्रक्रिया अब अघि बढाइने भएको छ । न्यूनतम भाडा निर्धारण समितिले स्थानीय तथा प्रदेशमा प्रचलित नियमअनुसार क्षेत्रफलका आधारमा भाडा निर्धारण गर्नेछ ।
साउनभित्र भाडा निर्धारणलगायत आवश्यक प्रक्रिया पूरा गरी भदौको सुरुवातमा १५ दिने सूचना प्रकाशित गरेर व्यवसायीलाई सटर उपलब्ध गराउने तयारी भइरहेको संचालक समितिले जनाएको छ । सबै प्रक्रिया समयमै पूरा भए भदौ अन्तिम सातासम्म बजार सञ्चालनमा आउने थोक बजारका कार्यकारी निर्देशक काफ्लेले बताए । तत्काल बजारमा तरकारीलगायत कृषि उपजको थोक तथा खुद्रा कारोबार सञ्चालन गरिने भएको छ । भविष्यमा पशु तथा पोल्ट्री व्यवसायसमेत सञ्चालन गर्न सकिने व्यवस्था भए पनि आवश्यक फोहर व्यवस्थापन प्रणाली तयार नभएकाले सुरुमा कृषि उपजको कारोबारमा मात्र केन्द्रित हुने जनाइएको छ । बजारमा एक चिस्यान केन्द्रसहित ४० वटा थोक व्यवसायका लागि सटर, २३ वटा खुद्रा व्यवसायका लागि सटर र साना पसलका लागि थप एक स्थान उपलब्ध छ ।


















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्