मकवानपुरमा व्यक्ति विशेष किसानदेखि सहकारी संस्थासम्म व्यावसायिक सयपत्री फूल खेतीमा सक्रिय भएका छन्। तिहार लक्षित उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन र उचित मूल्य नपाउने चिन्ता किसानमा देखिएको छ।
संघका केन्द्रीय अध्यक्ष बालकृष्ण चौलागाईंका अनुसार नेपालमै तिहारका लागि आवश्यक फूल उत्पादन गर्न सकिने अवस्था बनेको छ। तर भारतमा फूल खेती गर्ने किसानले सरकारी अनुदान पाउने भएकाले नेपाली उत्पादनले मूल्यमा प्रतिस्पर्धा गर्न कठिन भएको छ। भन्सार प्रक्रिया पूरा नगरी भित्रिने फूलले स्वदेशी बजार प्रभावित पारेकाले अवैध आयात नियन्त्रण गरी नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। फूल खेतीलाई तिहारमा मात्र सीमित नगरी वर्षभरि उत्पादन र बजारीकरणको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन्।
यस वर्ष तिहारमा फूलको कारोबार ६५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार करिब ५१ लाख ८० हजार माला खपत हुनेछन्। यसमध्ये सयपत्रीका ४५ लाख, मखमलीका ६ लाख, गोडावरीका २० हजार र मिश्रित फूलका ६० हजार माला बिक्री हुने अनुमान छ। सयपत्री फूलको कारोबार मात्रै ४० करोड ५० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। प्रतिमाला औसत ९० रुपैयाँका दरले यसको कारोबार हुने अनुमान छ। गत वर्ष करिब ४० लाख सयपत्री माला बिक्री भएको थियो।
देशभर २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्री खेती भइरहेको छ। सातै प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक खेती विस्तार भएको छ। मुख्य सहरी बजारमा सयपत्री फूलको मागको ८८.८९ प्रतिशत स्वदेशी उत्पादनबाट पूरा हुने र बाँकी ११.११ प्रतिशत व्यवस्थापन गर्नुपर्ने एसोसिएसनको अनुमान छ। असोज ६ देखि ११ गतेसम्मको अविरल वर्षाले केही स्थानमा खेतीमा क्षति पु¥याए पनि यस वर्ष करिब ४० लाख माला आपूर्ति हुने एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताएका छन्।
हेटौँडा, भीमफेदी र मनहरीलगायत क्षेत्रमा १८ देखि २० बिघा क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती भइरहेको छ। हेटौँडा–१७ का प्रदीप थापाले यस वर्ष दुई कठ्ठामा सयपत्री खेती गरेका छन्। त्यस्तै, हेटौँडा–१९ बस्तिपुरस्थित सानाकिसान कृषि सहकारी संस्थाले दुई बिघामा खेती गरी तीन हजार केजी उत्पादन गर्ने लक्ष्य राखेको छ। गत वर्ष सहकारीले दुई हजार केजी उत्पादन गरेको थियो। उत्पादन बढे पनि बजार व्यवस्थापन र आयातित फूलसँगको प्रतिस्पर्धा चुनौती बनेको सहकारीका प्रबन्धक रमाई तामाङले बताए।















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्