मकवानपुरका स्थानीय तहमा खानेपानी तथा सरसफाइको अवस्था समान छैन । जिल्लाका १० स्थानीय तहको तथ्याङ्कलाई एकै ठाउँमा राखेर हेर्दा सरसफाइतर्फको अवस्था तुलनात्मक रूपमा बलियो देखिए पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानीको पहुँच भने निकै कमजोर रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ तथा नेपाल बहुसूचक सर्वेक्षण २०२४/०२५ लगायतका स्रोतमा आधारित भएर तयार पारेको खानेपानी तथा सरसफाईको अवस्था विश्लेषण सम्बन्धी प्रतिवेदनको स्थानीय तहगत तथ्याङ्कले यस्तो अवस्था देखाएको हो । प्रतिवेदनमा स्थानीय तहका सूचकहरू अनुमानजन्य मोडेलमार्फत तयार गरिएको उल्लेख छ । खानेपानीतर्फ औसत निरपेक्ष भ्रमांश १.५७ प्रतिशत बिन्दु र सरसफाइतर्फ ३.६१ प्रतिशत बिन्दु रहेको प्रतिवेदनले जनाएको छ।
सुरक्षित खानेपानीमा हेटौँडा अगाडि, बागमती सबैभन्दा पछाडि, थाहा सातौं स्थानमा
मकवानपुरका १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिका सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी सेवामा पहिलो स्थानमा देखिन्छ । हेटौँडामा यस्तो सेवाको पहुँच ३२.८ प्रतिशत जनसंख्यामा रहेको प्रतिवेदनमा उल्लेख छ ।
खानेपानी सेवामा दोस्रो स्थानमा भीमफेदी गाउँपालिका २७.४ प्रतिशत रहेको छ भने क्रमशः इन्द्रसरोवर गाउँपालिका २६ प्रतिशत, मकवानपुरगढी गाउँपालिका २५.९ प्रतिशत, कैलाश गाउँपालिका २४.७ प्रतिशत र राक्सिराङ गाउँपालिका २२.८ प्रतिशत छन् । थाहा नगरपालिकामा सुरक्षित खानेपानीको पहुँच २१ प्रतिशत, मनहरी गाउँपालिकामा २०.६ प्रतिशत, बकैया गाउँपालिकामा १९.१ प्रतिशत र बागमती गाउँपालिकामा सबैभन्दा कम १७.१ प्रतिशत रहेको छ।
सार्वजननिक भएको तथ्याङ्क अनुसार जिल्लाभित्रै सुरक्षित खानेपानी सेवामा ठूलो अन्तर रहेको देखिन्छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका र बागमती गाउँपालिकाबीचको अन्तर मात्रै १५.७ प्रतिशत बिन्दु छ । जिल्लाको सुरक्षित खानेपानीमा ज्यादै कमजोर देखिएका बकैया र बागमती गाउँपालिकाका क्रमशः क्रमशः १६.९ र २१.९ प्रतिशत नागरिक सुधार नगरिएको खानेपानी उपभोग गरिरहेको तथ्याङ्कले देखाएको छ । बागमती गाउँपालिकामा देखिएको यो अनुपात मकवानपुरका अन्य स्थानीय तहको तुलनामा उल्लेखनीय रूपमा बढी अन्तर हो ।
सरसफाइमा भीमफेदी र इन्द्रसरोवर सरकार बलियो
मकवानपुरमा खानेपानीको तुलनामा सरसफाइतर्फका सूचक केही सुधारिएको तथ्याङ्कमा देखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकामा सरसफाइ सेवाको पहुँचमा ८१.८ प्रतिशत नागरिक रहेको तथ्याङ्क रहेको छ । मकवानपुरकै दोस्रो स्थानमा इन्द्रसरोवर गाउँपालिका छ । इन्द्रसरोवरका ८१.४ प्रतिशत नागरिक सरसफाईको पहुँचमा छन् । मकवानपुरगढीमा ७८.८ प्रतिशत छ ।
मनहरीमा ७४.७, थाहामा ७१.३ र हेटौँडा उपमहानगरपालिकामा ६९.९ प्रतिशत जनसंख्या सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवाको पहुँचमा रहेको प्रतिवेदनमा उल्लेख छ । तर यही सूचकमा पनि जिल्लाभित्र ठूलो असमानता देखिन्छ । बागमती गाउँपालिकामा ६४.६ प्रतिशत, कैलाशमा ६०.२ प्रतिशत, राक्सिराङमा ५६.९ प्रतिशत र बकैयामा सबैभन्दा कम ५५.२ प्रतिशत मात्रै सुरक्षित सरसफाइ सेवामा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मकवानपुरमा सुरक्षित सरसफाइको उच्चतम र न्यूनतम अवस्थाबीच २६.६ प्रतिशत बिन्दुको अन्तर रहेको प्रतिवेदनमा उल्लेख छ ।
खुला दिसामुक्त घोषणा भए पनि चुनौती सकिएको छैन
सरसफाइको तथ्याङ्कभित्रको अर्को महत्वपूर्ण पक्ष खुला दिसाको अवस्था हो । यसलाई प्रतिवेदनमा दरबिलो सूचक बनायएको छ । राक्सिराङ गाउँपालिकामा २१.२ प्रतिशत जनसंख्या खुला दिसा गर्ने अवस्थामै रहेको प्रतिवेदनमा उल्लेख छ । यो तथ्याङ्क बागमतीमा १७.४ प्रतिशत, बकैयामा १५ प्रतिशत र कैलाशमा १४.१ प्रतिशत छ ।
यसको विपरीत थाहा र हेटौँडामा खुला दिसाको अनुपात १.४ प्रतिशत मात्रै छ । इन्द्रसरोवरमा २.४, भीमफेदीमा ४.५ र मकवानपुरगढीमा ५.२ प्रतिशत रहेको छ ।
तथ्याङ्क अनुसार खुला दिसामुक्त अभियानपछि पनि सबै स्थानीय तहमा उक्त अभियानले दीगोपनामा कठिनाई भएको पाइएको छ । प्रतिवेदनमा पालिका अनुसार हेर्ने हो भने विशेषतः ग्रामीण तथा दुर्गम भूगोल भएका स्थानीय तहहरुमा शौचालय प्रयोगको चुनौति देखिएको छ ।
बकैया र बागमती ‘गम्भीर वञ्चितीकरण’मा
प्रतिवेदनले खानेपानी र सरसफाइलाई छुट्टाछुट्टै मात्र नभई समग्र वास इक्विटी इन्डेक्स (वास इआई) का आधारमा पनि स्थानीय तहको अवस्था मूल्याङ्कन गरेको छ।
यस सूचकमा भीमफेदी गाउँपालिका ०.७४३ अंकसहित मकवानपुरमा सबैभन्दा अगाडि छ । दोस्रोमा इन्द्रसरोवर गाउँपालिका ०.७३४ अंक, तेस्रो हेटौँडा उपमहानगरपालिका ०.७३०, चौथो थाहा नगरपालिका ०.७०५ र मकवानपुरगढी ०.७०५ अंकसहित पाँचौ स्थानमा छ ।
मनहरीको ०.६९१, कैलाश ०.६६१ र राक्सिराङ ०.६२६ अंकमा छन् । बकैया ०.५८३ र बागमती ०.५८४८८ अंकसहित मकवानपुरमा सबैभन्दा कमजोर अवस्थामा रहेका छन् । प्रतिवेदनले बकैया र बागमती गाउँपालिकालाई बागमती प्रदेशका कम प्रदर्शन गर्ने स्थानीय तहका उदाहरणका रूपमा प्रस्तुत गर्दै दुवैलाई ‘गम्भीर वञ्चितीकरण’ को अवस्थामा राखेको छ।
प्राथमिकतामा पनि दुई स्थानीय तह सबैभन्दा पछाडि
वास इक्विटी इन्डेक्स (वास इआई) र अन्य सूचकलाई जोडेर गरिएको रणनीतिक वर्गीकरणमा मकवानपुरका १० स्थानीय तहमध्ये बकैया र बागमती पहिलो प्राथमिकतामा परेका छन् ।
कैलाश, राक्सिराङ र मनहरी दोस्रो प्राथमिकतामा छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका, हेटौँडा उपमहानगरपालिका, भीमफेदी र मकवानपुरगढी गायँपालिका तेस्रो प्राथमिकतामा छन् ।
खानेपानी तथा सरसफाईको पहुँच र सुरक्षित फरक सवाल हुन ?
मकवानपुरको तथ्याङ्कले प्रतिवेदनको परिभाषाअनुसार सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी सेवा हुन सुधारिएको स्रोत हुनुपर्ने, घरपरिसरमै उपलब्ध हुनुपर्ने, आवश्यक पर्दा पर्याप्त मात्रामा उपलब्ध हुनुपर्ने र ई–कोलीबाट मुक्त हुनुपर्ने तीनवटै अवस्था पूरा हुनुपर्छ ।
यसै कारण पाइप, धारा वा अन्य सुधारिएको स्रोत पुगेको तथ्याङ्कलाई मात्रै सुरक्षित खानेपानीको उपलब्धता मान्न नगसकिने उल्लेख छ । राष्ट्रियस्तरमै सुधारिएको खानेपानीमा पहुँच ९० प्रतिशत पुगे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानीमा पहुँच ४७.५ प्रतिशत मात्रै रहेको प्रतिवेदनले देखाएको छ । तसर्थ तथ्याङ्कले पूर्वाधार पुगेपछि पनि पानीको गुणस्तर, नियमितता र सुरक्षा सुनिश्चित गर्नु अर्को ठूलो चुनौती रहेको प्रतिवेदनले जनाएको छ ।
मकवानपुरका स्थानीय तहमा सुरक्षित खानेपानीको उच्चतम अवस्था हेटौँडामा ३२.८ प्रतिशत र न्यूनतम बागमतीमा १७.१ प्रतिशत छ ।
त्यस्तै राष्ट्रियस्तरमा सुधारिएको सरसफाइ सेवाको पहुँच ९२.८ प्रतिशत भए पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवाको पहुँच ३९.९ प्रतिशत मात्रै रहेको प्रतिवेदनले देखाएको छ । मकवानपुरका स्थानीय तहमा सुरक्षित सरसफाइको अवस्था तुलनात्मक रूपमा राम्रो देखिए पनि बकैया, राक्सिराङ र कैलाशमा अझै पछाडि रहेको देखाएको छ ।
अबको लगानी, सुरक्षित पानी
मकवानपुरको खानेपानी तथा सरसफाई सम्बन्धी तथ्याङ्कले स्थानीय सरकारका लागि विकासको प्राथमिकतामा पुनर्विचार गर्नुपर्ने सन्देश दिएको छ ।
अहिलेसम्म खानेपानीका आयोजना निर्माण, पाइप विस्तार, ट्यांकी निर्माण र धारा जडानलाई उपलब्धिको मुख्य आधार मानिँदै आएको भए अब पानीको गुणस्तर, नियमित आपूर्ति, स्रोत संरक्षण, जोखिम व्यवस्थापन र सुरक्षित वितरण प्रणालीलाई पनि उपलब्धिको केन्द्रमा राख्नुपर्ने देखाएको छ ।
त्यसैगरी सरसफाइमा शौचालय निर्माणलाई अन्तिम लक्ष्य मान्नेभन्दा मलमूत्रको सुरक्षित व्यवस्थापन, प्रशोधन, पुनःप्रयोग र वातावरणीय सुरक्षासम्मको चक्रलाई स्थानीय तहको योजनामा समेट्नुपर्ने देखिन्छ । प्रतिवेदनले पनि नेपालका लागि आगामी चुनौती आधारभूत पूर्वाधारमा पहुँच विस्तार मात्र नभई विद्यमान पूर्वाधारलाई सुरक्षित, विश्वसनीय, दिगो र समतामूलक सेवामा रूपान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्