मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा विशेष समारोहकाबीच स्वर्ण जयन्ती मनाएको छ । बागमती प्रदेश सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको विशेष आतिथ्यता रहेको थियो ।
स्वर्ण जयन्ती समारोहमा प्रमुख अतिथि कुमारी मोक्तानले विद्यालयको ५० वर्षे यात्रा आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताउँदै विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइन् । उनले बदलिँदो समयअनुसार शिक्षालाई व्यवहारिक, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउनुपर्नेमा जोड दिइन् । त्यस्तै, विशेष अतिथि थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टले विद्यालयले पाँच दशकको अवधिमा स्थानीय समुदायको शैक्षिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि विद्यालयको विकासका लागि नगरपालिका आवश्यक सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । उनले विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तलाल रुम्बाको अध्यक्षता तथा कार्यक्रममा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्ल, जिल्ला समन्वय समिति सदस्य सुवर्ण गोपाली, नेपाली कम्युनिस्ट पार्टी थाहाका अध्यक्ष विनोदकुमार लामा, सुनौला माविका प्रधानाध्यापक सत्तल उप्रेती तथा शिक्षक–अभिभावक संघका अध्यक्ष सुमित्रा लामाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक कुमारी आशा चन्दले विद्यालयको वार्षिक आय–व्यय विवरण तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । स्वर्ण जयन्तीको अवसरमा विद्यालयलाई लामो समयदेखि सहयोग गर्दै आएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । साथै स्वर्ण जयन्तीका अवसरमा आयोजित विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यालय तथा विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । स्वर्ण महोत्सव सफल बनाउन आर्थिक तथा अन्य सहयोग गर्ने सहयोगदातालाई समेत सम्मानपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।

समारोहमा शिक्षक तथा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी र अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्