मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा कुल विनियोजित बजेटको ६७.९३ प्रतिशत खर्च गरेको छ । उपमहानगरपालिकाले गत आर्थिक वर्षमा २ अर्ब ९४ करोड ७६ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेकामा २ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको वार्षिक प्रगति विवरणमा उल्लेख छ । उपमहानगर पालिकाले वार्षिक लक्ष्यको ८५.८४ प्रतिशत राजस्व संकलन गरेको छ ।

उपमहानगरपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रम, बजेट खर्च र हासिल गरेका उपलब्धिबारे २३ असोजमा नगर कार्यपालिकाको कार्यालयमा वार्षिक प्रगति समीक्षा गरेको हो । नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न महाशाखा तथा शाखाले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए । उपमहानगर आर्थिक प्रशासन शाखा प्रमुख केशव हुमागाईँका अनुसार गत आर्थिक वर्षमा ५२ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ४५ करोड २९ लाख रुपैयाँ संकलन भएको छ । यसअनुसार उपमहानगर पालिकाले लक्ष्यको ८५.८४ प्रतिशत राजस्व संकलन गरेको हो ।

समीक्षामा नगरप्रमुख लामाले वार्षिक प्रगति समीक्षाले विगतका कामको मूल्यांकन गर्न र आगामी योजना तथा कार्यक्रमलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताइन् । उनले समीक्षाका क्रममा प्राप्त सुझाव तथा पहिचान भएका कमजोरीलाई सुधार गर्दै विकास निर्माण र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । उपमहानगरको विकास र समृद्धिका लागि योजनाबद्धरुपमा अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गरी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालका विकास निर्माणका काम र सेवाप्रवाहलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले वार्षिक प्रगति समीक्षाले आगामी योजना तथा कार्यक्रम कार्यान्वयनलाई सहज र प्रभावकारी बनाउने बताए । विगतका कामको समीक्षा गरी देखिएका कमजोरी सुधार गर्न र आगामी कार्ययोजनालाई व्यवस्थित बनाउन समीक्षा कार्यक्रम महत्वपूर्ण हुने उनको भनाइ थियो ।

पालिका प्रेस
थप जानकारी