मकवानपुरको कैलाश गाउँपालिकाले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गरेको छ । समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८२÷८३ मा गाउँपालिकाले कुल १ करोड ७५ लाख २७ हजार ७ सय ९ रुपैयाँ राजस्व संकलन गरेको छ । जानकारी गराइएको छ । जसमध्ये १० वटा वडाबाट मात्रै ३२ लाख ७९ हजार ६ सय ३३ रुपैयाँ राजस्व संकलन भएको छ भने वडागत रूपमा सबैभन्दा बढी राजस्व वडा नम्बर १० ले संकलन गरेको छ ।

त्यस्तै, आर्थिक प्रशासन शाखाका अनुसार गाउँपालिकाले चालुतर्फ २९ करोड ६ लाख ५४ हजार ३ सय ३७ रुपैयाँ र पुँजीगततर्फ १६ करोड ७६ लाख ५६ हजार ५ सय ४२ रुपैयाँ खर्च गरेको छ। लेखा प्रमुख टिकाराम अधिकारीले क्षेत्रगत खर्चको विवरण पेस गर्दै सामाजिक विकासमा ८४.४९ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ८३.३३ प्रतिशत, पूर्वाधार विकासमा ७०.९ प्रतिशत, आर्थिक विकासमा ५९.५१ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ४४.५१ प्रतिशत खर्च भएको जानकारी दिए।
योजना शाखा प्रमुख दीपेन्द्र अधिकारीले उपभोक्ता समितिमार्फत सञ्चालन हुने २०२ योजनामध्ये १८७ वटा सम्झौता भई भुक्तानीसमेत भइसकेको जानकारी दिए, जसमध्ये सर्वाधिक योजना वडा नम्बर १० मा रहेका छन्। पूर्वाधार विकास शाखा प्रमुख अनिलप्रसाद जोशीका अनुसार उपभोक्ता समितिमार्फत गाउँपालिकाभित्र करिब ३१.५ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको छ भने ८९ किलोमिटर पुरानो सडक ट्र्याक सुधार गरिएको छ । यसैगरी, ६०४ मिटर पक्की नाला, ७३० मिटर स्ल्याब ढलान, ८७५ घनमिटर मेसनरी पर्खाल, ७१६ मिटर ग्याबिन जाली र करिब २ किलोमिटर ग्राभेल गर्ने काम सम्पन्न भएको छ।

शिक्षा शाखाका प्रमुख समीर जोशीले गाउँपालिकाको कुल साक्षरता दर ६७.८ प्रतिशत (पुरुष ७३.३ प्रतिशत र महिला ६२.२ प्रतिशत) रहेको र शिक्षामा क्रमिक सुधार भए पनि अभिभावकमा चेतनाको कमीले विद्यालयमा विद्यार्थी उपस्थितिदर केही घट्दो क्रममा रहेको औँल्याए। स्वास्थ्य शाखाले करिब २२ हजार जनसंख्यालाई लक्षित गरी सेवा प्रवाह गरेको र ८८ प्रतिशत कार्यक्रम खर्च गरेको जनाएको छ। महिला तथा बालबालिकासम्बन्धी कार्यक्रमतर्फ प्रदेशस्तरीय कार्यक्रममा ४६ प्रतिशत र गाउँपालिकातर्फ ८८ प्रतिशत खर्च भएको छ भने सूचना प्रविधितर्फ एलजीपासमा ५७.४१ प्रतिशत प्रगति हासिल भएको छ। समीक्षा अवधिमा गाउँपालिकामा ७२० जनाको जन्म, १९३ जनाको मृत्यु र २११ जना बसाइँ सरेर गएको जनसंख्याङ्की तथ्याङ्क प्रस्तुत गरिएको छ। साथै, कृषि शाखामार्फत किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरी किसान समूह तथा फर्ममार्फत कार्यान्वयन गराइएको छ।

वार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्षमा विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कसिलो बनाउन गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले निर्देशन दिएका छन् । उनले गत वर्षको भौतिक तथा वित्तीय प्रगतिभन्दा चालु आवमा उल्लेख्य सुधार गर्ने गरी काम गर्न निर्देशन दिइएको हो ।कार्यक्रममा अध्यक्ष मुक्तानले विषयगत शाखाहरूलाई वर्षभरि सञ्चालन गरिने योजना तथा कार्यक्रमहरू भदौ महिनादेखि नै ‘ब्रेक डाउन’ गरी योजनाबद्ध रूपमा अघि बढाउन ताकेता गरे। स्वास्थ्य, शिक्षा र पूर्वाधारतर्फका योजनाहरूको समयमै ठेक्का आह्वान गरी काम थाल्नुपर्नेमा जोड दिँदै उनले पालिका तथा वडा तहमा कार्यरत कर्मचारीहरूलाई सेवा प्रवाहमा कुनै कन्जुस्याइँ नगरी पारदर्शी र प्रभावकारी रूपमा प्रस्तुत हुन निर्देशन दिए। सामाजिक तथा भौतिक विकासका लागि जनप्रतिनिधि, कर्मचारी र सबै पक्षबीचको समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो।

प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्री, वडा नम्बर ३ का अध्यक्ष देवलाल बल, वडा नम्बर ७ का अध्यक्ष उदासकुमार ब्लोन, वडा नम्बर १० का अध्यक्ष सूर्यबहादुर ब्लोनलगायत विभिन्न शाखा प्रमुख, वडा सचिव तथा सामाजिक परिचालकहरूको आतिथ्यता र सहभागितामा समीक्षा कार्यक्रम सम्पन्न भएको थियो।

पालिका प्रेस
थप जानकारी