रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्दार तथा राहतका लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । उपमहानगरपालिकाको बिहिबार बसेको नगरकार्यपालिकाको ९१ औँ बैठकले बाढीप्रभावित क्षेत्रमा उद्दार टोली परिचालन गर्ने तथा आवश्यक उद्दार सामग्री पठाउने निर्णय गरेको हो ।

बैठकले हेटौंडा उपमहानगरपालिका नगरप्रहरी इन्चार्जको नेतृत्वमा सात सदस्यीय नगरप्रहरी टोली बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्दारका लागि खटाउने निर्णय गरेको छ । बाढीका कारण प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्दार तथा खोजी कार्यमा सहयोग पु¥याउने उद्देश्यले टोली परिचालन गर्न लागिएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिएका छन् । त्यसैगरी, हेटौंडा उपमहानगरपालिकासँग उपलब्ध उद्दार सामग्री जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् बाढीप्रभावित क्षेत्रम पठाउने निर्णय बैठकले गरेको छ । बाढीका कारण प्रभावित नागरिकको उद्दारका लागि आवश्यक प्रबन्ध तथा व्यवस्थापन गर्ने जिम्मेवारीसमेत उपमहानगरपालिकाले लिएको छ । बैठकले नेपाल सरकार तथा बागमती प्रदेश सरकारबाट विपद्सँग सम्बन्धित रुपमा जारीहुने सूचना तथा निर्देशनबारे आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय गरेको छ ।

हेटौंडा उपमहानगरले बाढीप्रभावित आफ्ना नगरवासीलाई आवश्यक सूचना उपलब्ध गराउन विपद् फोकल पर्सन र नगरप्रहरी इन्चार्जलाई सम्पर्क गर्न आग्रह गरेको छ । उपमहानगरपालिकाले विपद् फोकल पर्सन हिमप्रसाद पौडेल र नगरप्रहरी इन्चार्ज नेत्रप्रसाद ढकाललाई सम्पर्कव्यक्ति तोकेको छ । उपमहानगरको टोली गल्छीमा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले चीन–नेपाल सीमावर्ती क्षेत्रबाट आएको बाढीका कारण सम्पर्कविहीन भएका नगर वासीको अवस्थाबारे जानकारी लिन गल्छी पुगेका छन् । भदौ १० गते चीन–नेपाल सीमाक्षेत्रमा आएको अप्रत्याशित बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा विभिन्न कामको सिलसिलामा पुगेका हेटौंडा उपमहानगरका केही नगर वासी सम्पर्कविहीन भएपछि जनप्रतिनिधिले उनीहरुको अवस्था बुझ्न पहल गरेका हुन् ।

उपमहानगरपालिकामा रहेको तथ्यांकका आधारमा ती जिल्लाका विभिन्न क्षेत्रमा काम तथा अन्य सिलसिलामा रहेका नगर वासीको अवस्थाबारे जानकारी लिने क्रममा नगरप्रमुख लामा र उपप्रमुख बानियाँसहितको टोली धादिङको गल्छी पुगेको हो । टोलीले स्थानीय अवस्था, बाढीबाट भएको क्षतिको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको छ । स्थलगत अनुगमनका क्रममा हेटौंडा उपमहानगरपालिका–३, ८, ९, ११ र १३ का जनप्रतिनिधि तथा कार्यपालिका सदस्यको समेत सहभागिता रहेको थियो । टोलीमा उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनालगायतको सहभागिता रहेको थियो । तथ्यांकअनुसार उपमहानगर क्षेत्रका २० जना ब्यक्ति सम्पर्क बिहिन भएका छन् ।

पालिका प्रेस
थप जानकारी