साहित्यकार तथा शिक्षासेवी तुलसी थापाको स्मृति दिवसको अवसरमा मकवानपुरको भीमफेदीमा आयोजित राष्ट्रिय कविता प्रतियोगिता तथा प्रतिमा अनावरण समारोह–२०८३ भएको छ । बुढ्यौली साहित्य समाज नेपाल, मकवानपुरको व्यवस्थापन तथा भीमफेदी गाउँपालिकाको आयोजनामा ७ भाद्रमा भीमफेदी गाउँपालिका–२ भैँसेस्थित कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षता तथा डाक्टर गणेश लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला विकास समिति मकवानपुरका पूर्वसभापति रामेश्वर राना, वरिष्ठ साहित्यकार तथा प्रज्ञा श्रवण मुकारुङ, वरिष्ठ संगीतकार आभास, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ, बुढ्यौली साहित्य समाज नेपालका अध्यक्ष आरसी रिजाललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपालभरबाट छनोट भएका दश उत्कृष्ट कविता वाचन गरिएको थियो । विभिन्न जिल्लाबाट छनोट भएर आएका कविहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । कविता वाचनसँगै कार्यक्रममा नेपालका प्रख्यात तथा स्थापित साहित्यकारहरूको साहित्यिक प्रस्तुति समेत रहेको थियो ।

साहित्यकार तुलसी थापाको योगदानको स्मरण गर्दै नेपाली साहित्यको प्रवद्र्धन, नयाँ प्रतिभाको पहिचान र सिर्जनशील पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । साहित्यका विभिन्न विधामा सक्रिय स्रष्टाहरूको सहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको थियो । कार्यक्रममा राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट प्रतिभाहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । साथै साहित्य र सिर्जनाका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूको सम्मान तथा साहित्यकार तुलसी थापाको स्मृतिसँग जोडिएको प्रतिमा अनावरणसमेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले साहित्य समाजको चेतना र संस्कृतिको महत्वपूर्ण आधार भएको बताए । उनले नयाँ पुस्तालाई साहित्यसँग जोड्न यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै भीमफेदीमा राष्ट्रियस्तरको साहित्यिक कार्यक्रम आयोजना हुनु गौरवको विषय भएको बताए । “साहित्यले समाजलाई चिनाउने मात्र होइन, समाजलाई सही दिशातर्फ डो¥याउने काम पनि गर्छ । भीमफेदीजस्तो ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिएको ठाउँमा राष्ट्रियस्तरको साहित्यिक कार्यक्रम आयोजना हुनु हाम्रो लागि गौरवको विषय हो,” अध्यक्ष लामाले भने, “यसले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुका साथै भीमफेदीलाई साहित्यिक गन्तव्यका रूपमा समेत चिनाउन सहयोग पुग्नेछ ।”

अध्यक्ष लामाले साहित्यकारहरूको उपस्थितिले स्थानीयस्तरमा सिर्जनात्मक गतिविधि बढ्नुका साथै विद्यार्थी तथा युवापुस्तामा पठन र लेखन संस्कृतिको विकास हुने विश्वास व्यक्त गरे । बुढ्यौली साहित्य समाज नेपाल, मकवानपुरले साहित्यकार तुलसी थापाको स्मृतिलाई जीवन्त राख्दै साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै आएको छ । यस वर्षको कार्यक्रमलाई विगतभन्दा थप व्यापक र सहभागितामूलक बनाइएको आयोजकको भनाइ छ ।

कविता, साहित्य र सिर्जनाको माध्यमबाट भीमफेदीमा राष्ट्रियस्तरको साहित्यिक जमघट भएको कार्यक्रमले मकवानपुरको साहित्यिक क्षेत्रमा समेत नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । स्थानीय प्रतिभालाई राष्ट्रियस्तरको मञ्च उपलब्ध गराउने तथा ग्रामीण क्षेत्रमा साहित्यप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले साहित्य र सिर्जनाको क्षेत्रमा महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी