मकवानपुर थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक उपलब्धिका क्षेत्रमा क्रमशः उत्कृष्ट बन्दै गएको छ। च्वाइस नेपालको सहयोगमा सुविधा सम्पन्न शौचालय निर्माण सम्पन्न भएसँगै विद्यालयको भौतिक पूर्वाधारमा महत्वपूर्ण उपलब्धि थपिएको हो। ४ भाद्रमा थाहा नगरपालिका प्रमुख विष्णु बिष्टको प्रमुख आतिथ्यतामा विद्यालयमा नवनिर्मित सुविधा सम्पन्न शौचालय तथा संरचना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एलडिएससीका प्रमुख डा. कार्ल जोनसन, उहाँकी धर्मपत्नी लिन्डा रिडिङ जोनसन, च्वाइस नेपालका कार्यक्रम निर्देशक किरण न्यौपाने, थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्ललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा झम्केश्वरी बाजा व्यवस्थापन समितिद्वारा उत्कृष्ट धिमे बाजासहित विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले आकर्षक स्वागत नृत्य प्रस्तुत गरी अतिथिहरूको स्वागत गरेका थिए। स्थानीय कला, संस्कृति तथा विद्यार्थीहरूको प्रतिभा झल्किने प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

विद्यालयका सहायक प्रधानाध्यापक भुपेन्द्र गोपालीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, सहयोगी संस्था, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति आभार व्यक्त गरे । उनले विद्यालयको विकासमा सबै पक्षबीचको सहकार्य र सहजीकरण महत्वपूर्ण रहेको बताए ।

थाहा नगरपालिकामै उत्कृष्ट र व्यवस्थित विद्यालय झम्केश्वरी– नगर प्रमुख बिष्ट

कार्यक्रममा बोल्दै थाहा नगरपालिका प्रमुख विष्णु बहादुर बिष्टले झम्केश्वरी माध्यमिक विद्यालय थाहा नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गर्न सफल हुनुका साथै व्यवस्थित विद्यालयका रूपमा अघि बढिरहेकोमा खुसी व्यक्त गरे । नगर प्रमुख बिष्टले विद्यालयको शैक्षिक उपलब्धि, व्यवस्थापन तथा भौतिक पूर्वाधार विकासमा देखिएको प्रगतिले आफूलाई खुसी बनाएको बताए ।

उनले विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीबीचको सम्बन्ध नङ र मासुको जस्तै आत्मीय र बलियो हुनुपर्ने उल्लेख गर्दै झम्केश्वरीमा यी पक्षबीचको सम्बन्ध र सहकार्य राम्रो रहेको बताए । उनले सबै पक्षबीचको राम्रो सम्बन्ध, सहकार्य र एकताले मात्र विद्यालयलाई उत्कृष्ट बनाउन सकिने बताउँदै विद्यालयको आगामी यात्राका लागि शुभकामना दिए ।

विद्यालयलाई च्वाइस नेपाल तथा डा. कार्ल जोनसनले ठूलो गुण लाए

कार्यक्रममा एलडिएससीका प्रमुख डा. कार्ल जोनसनले विद्यालयमा निर्माण भएको सुविधा सम्पन्न संरचनाले विद्यार्थीको स्वास्थ्य, सरसफाइ र सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले विद्यालयको विकासमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै विद्यालय परिवारलाई शुभकामना दिए ।

डा. जोनसनकी धर्मपत्नी लिन्डा रिडिङ जोनसनको समेत कार्यक्रममा उपस्थिति रहेको थियो। त्यस्तै च्वाइस नेपालका कार्यक्रम निर्देशक किरण न्यौपानेले विद्यालयको आवश्यकता र विद्यार्थीको हितलाई ध्यानमा राखेर संरचना निर्माणमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लको समेत उपस्थिति रहेको कार्यक्रमको अवसरमा विद्यालयले सहयोगी संस्था तथा उपस्थित विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो। विद्यालयले संरचना निर्माणमा सहयोग पु¥याउने च्वाइस नेपाल, डा. कार्ल जोनसन तथा सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेको थियो।

भौतिक विकाससँगै शैक्षिक गुणस्तर प्राथमिकताः प्रधानाध्यापक श्रेष्ठ

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठले विद्यालयको विगत, वर्तमान अवस्था, भौतिक पूर्वाधार विकास तथा शैक्षिक उपलब्धिका विषयमा विस्तृत मन्तव्य व्यक्त गरे । प्रधानाध्यापक श्रेष्ठले विद्यालयको विकास कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्र सम्भव नहुने बताउँदै विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक, स्थानीय सरकार तथा सहयोगी संघसंस्थाबीचको निरन्तर सहकार्य आवश्यक रहेको बताए ।

उनले विद्यालयमा राम्रो शैक्षिक वातावरण निर्माण गर्न भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै च्वाइस नेपालको सहयोगमा निर्माण भएको सुविधा सम्पन्न शौचालयले विद्यार्थी तथा शिक्षक–कर्मचारीका लागि स्वच्छ, सुरक्षित र व्यवस्थित वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर, विद्यार्थीको अनुशासन, प्रविधिमैत्री शिक्षण, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको सर्वाङगिण विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

राम्रो नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन तथा अपेक्षाकृत कमजोर विद्यार्थीलाई थप सहयोग गर्दै शैक्षिक उपलब्धिलाई अझ माथि पु¥याउने उनले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लामिछाने भन्छन्–‘विद्यालय सबैको साझा सम्पत्ति हो’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन लामिछानेले विद्यालयको समग्र विकासका लागि व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–कर्मचारी, अभिभावक, विद्यार्थी, स्थानीय सरकार तथा सहयोगी संघसंस्थाबीचको सहकार्य आवश्यक रहेको बताएका छन् । अध्यक्ष लामिछानेले झम्केश्वरी माविलाई स्थानीय समुदायको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे । विद्यालयको विकासमा समुदायको अपनत्व र सहभागिता बढ्दै गएमा भौतिक तथा शैक्षिक दुवै क्षेत्रमा अझ उल्लेखनीय प्रगति गर्न सकिने उनको भनाइ थियो।

उनले च्वाइस नेपालको सहयोगमा निर्माण भएको सुविधा सम्पन्न शौचालय विद्यालयको आवश्यकता र प्राथमिकतासँग जोडिएको महत्वपूर्ण उपलब्धि भएको बताउँदै सहयोगी संस्था तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे । अध्यक्ष लामिछानेले नयाँ संरचना निर्माण गर्नु मात्र उपलब्धि नभई त्यसको संरक्षण, उचित प्रयोग र दीर्घकालीन व्यवस्थापन पनि सबैको जिम्मेवारी भएको बताए । उनले विद्यालयलाई भौतिक रूपमा सुविधासम्पन्न, शैक्षिक रूपमा उत्कृष्ट र व्यवस्थापनका दृष्टिले व्यवस्थित विद्यालय बनाउने लक्ष्यका साथ व्यवस्थापन समिति अघि बढिरहेको बताए ।

विद्यालयको विकास सबैको साझा प्रयासः निवर्तमान अध्यक्ष प्रधान

कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष प्रदीप प्रधानले विद्यालयको विकास यात्रा, भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक उपलब्धिका विषयमा धारणा व्यक्त गरे । उनले झम्केश्वरी माध्यमिक विद्यालय आजको अवस्थामा आइपुग्नुमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–कर्मचारी, अभिभावक, विद्यार्थी, स्थानीय समुदाय तथा विभिन्न सहयोगी संस्थाको निरन्तर योगदान रहेको बताए ।

प्रधानले विद्यालयको विकास कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने बताउँदै सबै पक्षको साझा प्रयास, सहकार्य र अपनत्व आवश्यक रहेको उल्लेख गरे । उनले विद्यालयलाई समुदायको साझा सम्पत्तिका रूपमा हेर्दै यसको विकास र संरक्षणमा सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले च्वाइस नेपालको सहयोगमा निर्माण भएको सुविधा सम्पन्न शौचालय विद्यार्थी तथा शिक्षक–कर्मचारीका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । विद्यालयमा आवश्यक पूर्वाधार थपिँदै जाँदा विद्यार्थीले स्वच्छ, सुरक्षित र सहज वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने उनको भनाइ थियो।

प्रधानले विद्यालयको वास्तविक सफलता भवन र भौतिक संरचनाले मात्र निर्धारण नगर्ने बताउँदै विद्यार्थीको ज्ञान, सीप, संस्कार, अनुशासन र व्यवहारमा देखिने सकारात्मक परिवर्तन नै विद्यालयको मुख्य उपलब्धि भएको धारणा राखे ।

उनले विद्यालयले हासिल गर्दै आएको शैक्षिक उपलब्धिप्रति खुसी व्यक्त गर्दै शिक्षकहरूको मेहनत, विद्यार्थीहरूको लगनशीलता तथा अभिभावकहरूको निरन्तर सहयोगका कारण विद्यालयले राम्रो नतिजा हासिल गर्न सफल भएको बताए । थाहा नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयको पहिचानलाई निरन्तरता दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्नुपर्ने उनको भनाइ थियो ।

विद्यार्थी रितिका भन्छिन्–‘व्यवस्थित शौचालयले विद्यार्थीलाई सहज’

कार्यक्रममा कक्षा १० की छात्रा रितिका लामिछानेले सुविधा सम्पन्न तथा व्यवस्थित शौचालय निर्माण भएपछि आफूहरू लगायत सबै विद्यार्थीलाई निकै सहज भएको बताइन् । उनले विद्यालयमा स्वच्छ, सफा र व्यवस्थित शौचालयको सुविधा उपलब्ध हुँदा विद्यार्थीको दैनिक जीवन तथा पठनपाठनमा समेत सकारात्मक प्रभाव परेको उल्लेख गरिन्। संरचना निर्माणका लागि सहयोग गर्ने च्वाइस नेपाल तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गर्दै उनले विद्यालयमा सुविधा थपिँदै गएकोमा खुसी व्यक्त गरिन्।
रितिकाले नयाँ संरचनाको उचित संरक्षण र सरसफाइमा विद्यार्थीहरू पनि जिम्मेवार बन्नुपर्ने बताउँदै विद्यालयको सम्पत्तिको संरक्षण गर्नु सबै विद्यार्थीको साझा दायित्व भएको धारणा व्यक्त गरिन्।

 

सो अवसरमा सुविधा सम्पन्न शौचालय तथा संरचना हस्तान्तरण कार्यक्रम सम्पन्न भएपछि विद्यालयले सोही अवसरमा शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरेको थियो। विद्यालयले सार्वजनिक गरेको नतिजा समग्र रूपमा उत्कृष्ट तथा उत्साहजनक रहेको थियो। विभिन्न कक्षा तथा विषयमा विद्यार्थीहरूले राम्रो प्रदर्शन गरेपछि विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन पक्षमा खुसीको वातावरण बनेको थियो।

नतिजा प्रकाशन कार्यक्रममा विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको निरन्तर प्रयास तथा अभिभावकको सहयोगका कारण विद्यालयले राम्रो शैक्षिक उपलब्धि हासिल गर्न सफल भएको बताइएको थियो। थाहा नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गर्दै व्यवस्थित विद्यालयका रूपमा अघि बढिरहेको झम्केश्वरी माविको शैक्षिक उपलब्धिले विद्यालय परिवारमा थप उत्साह थपेको छ।

भौतिक पूर्वाधारमा थपिँदै गएको सुविधा, व्यवस्थित विद्यालय व्यवस्थापन, शिक्षक–विद्यार्थीको सक्रियता, अभिभावकको सहयोग, समुदायको अपनत्व, सहयोगी संस्थाको साथ तथा उत्कृष्ट शैक्षिक नतिजाले झम्केश्वरी माध्यमिक विद्यालयलाई थाहा नगरपालिकाकै अग्रणी, व्यवस्थित र उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्दै लगेको छ।

 

 

 

पालिका प्रेस
थप जानकारी