मकवानपुर जिल्लामा क्षयरोग संक्रमित व्यक्तिको संख्या बढेको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ सय ७५ जना क्षयरोग संक्रमित पहिचान भएकामा आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म यो संख्या बढेर ८ सय ११ पुगेको हो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ९ सयभन्दा बढी क्षयरोग संक्रमित पहिचान भएका थिए । एक वर्षको अवधिमा जिल्लामा क्षयरोग संक्रमितको संख्या ३६ जनाले बढेको छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ सय ७५ जना क्षयरोग संक्रमित पहिचान भएकामा आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म यो संख्या बढेर ८ सय ११ पुगेको हो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ९ सयभन्दा बढी क्षयरोग संक्रमित पहिचान भएका थिए । क्षयरोग संक्रमणको भार जिल्लाका स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा बढी देखिएको छ । गत आर्थिक वर्षमा हेटौँडामा मात्रै ३ सय ३८ जना संक्रमित पहिचान भएका छन् । यो जिल्लामा पहिचान भएका कुल संक्रमितको झन्डै ४२ प्रतिशत हो ।
त्यस्तै मनहरी गाउँपालिकामा १ सय १७, बकैया गाउँपालिकामा ८७, बागमती गाउँपालिकामा ७० र मकवानपुरगढी गाउँपालिकामा ५५ जना संक्रमित पहिचान भएका छन् । थाहा नगरपालिकामा ४४, भीमफेदी गाउँपालिकामा ४०, राक्सिराङ गाउँपालिकामा ३२, कैलाश गाउँपालिकामा १७ र इन्द्रसरोवर गाउँपालिकामा ११ जना संक्रमित भेटिएका छन् ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका क्षयरोग फोकल व्यक्ति कान्जेय कुमार चौधरीका अनुसार संक्रमणको संख्या एक वर्ष घटेपछि पुनः बढेको हो । उनका अनुसार २०८०÷८१ मा ९ सयभन्दा बढी रहेको संक्रमित संख्या २०८१/८२ मा घटेर ७ सय ७५ पुगे पनि २०८२/८३ मा पुनः ८ सय ११ पुगेको छ । परीक्षणको दायरा बढ्दै जाँदा संक्रमण पहिचान हुने क्रम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । हेटौँडा अस्पतालमा मात्रै गत आर्थिक वर्ष ४ हजार १० जनाको क्षयरोग परीक्षण गरिएको थियो । तीमध्ये १ सय ५५ जनामा क्षयरोग संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
मकवानपुरमा क्षयरोगको उपचारका लागि सरकारले डट्स विधि सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत संक्रमितलाई स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको प्रत्यक्ष निगरानीमा नियमित औषधि सेवन गराइन्छ । सामान्यतः ६ महिनासम्म उपचार हुने भए पनि बिरामीको अवस्थाअनुसार उपचार अवधि थप गर्न सकिने व्यवस्था छ । क्षयरोगको औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य संस्था सहज पहुँचमा रहेका बिरामीले स्वास्थ्यकर्मीमार्फत औषधि सेवन गर्ने व्यवस्था छ भने स्वास्थ्य संस्था टाढा रहेका क्षेत्रमा समुदायका स्वास्थ्य स्वयंसेविका वा तालिमप्राप्त व्यक्तिमार्फत औषधि वितरण तथा सेवनको निगरानी गरिँदै आएको छ ।
संक्रमितको संख्या बढे पनि उपचारको सफलता दर भने उच्च रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष मकवानपुरमा क्षयरोगको उपचार सफलता दर ९० प्रतिशत रहेको थियो । क्षयरोग नियन्त्रणका लागि संक्रमण पहिचानसँगै नियमित उपचार र औषधि सेवनलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको स्वास्थ्यकर्मी बताउँछन् । पछिल्लो तथ्यांकले मकवानपुरमा क्षयरोग नियन्त्रणका लागि परीक्षण, पहिचान र उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्