नवजात शिशुको जटिल अवस्थाको उपचारका लागि हेटौँडा अस्पतालमै सघन उपचार सेवा उपलब्ध भएको छ। अस्पतालले २७ साउनदेखि ८ बेड क्षमताको नवजात शिशु सघन उपचार कक्ष (एनआइसीयु) सञ्चालनमा ल्याएको हो । सेवा सुरु भएको पहिलो दिनमै शल्यक्रियामार्फत जन्मिएका दुई नवजात शिशुलाई एनआइसीयुमा भर्ना गरी उपचार थालिएको अस्पतालका बालस्वास्थ्य विशेषज्ञ डा. हरिबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार एनआइसीयुमा जन्मिएको २८ दिनसम्मका नवजात शिशुको जटिल अवस्थाको उपचार गरिनेछ । यसअघि एनआइसीयु सुविधा नहुँदा जोखिमयुक्त नवजात शिशुलाई थप उपचारका लागि चितवन वा काठमाडौं लैजानुपर्ने अवस्था थियो। एनआइसीयुसँगै अस्पतालमा १ महिनादेखि १४ वर्षसम्मका बालबालिकाको जटिल अवस्थाको उपचारका लागि ८ बेडको बाल सघन उपचार कक्ष (पीआइसीयु) पनि सञ्चालनमा आएको छ ।

बागमती प्रदेश सरकारको ३ करोड ७२ लाख रुपैयाँ बजेटबाट एनआइसीयु र पीआइसीयु सञ्चालनमा ल्याइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत अमर अधिकारीले बताए । डा. खड्काका अनुसार एनआइसीयु सञ्चालनपछि गर्भवती महिलाले प्रसूति सेवाका लागि हेटौँडा अस्पताल रोज्ने क्रम बढ्ने अपेक्षा गरिएको छ। नवजात शिशुको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेपछि स्थानीयस्तरमै सुरक्षित प्रसूति तथा बाल उपचार सेवा विस्तार हुने उनको भनाइ छ।

एनआइसीयु सञ्चालनका लागि चार जना मेडिकल अधिकृत, १८ जना स्टाफ नर्स, चार जना स्वीपर र दुई जना सुरक्षागार्ड परिचालन गरिएको छ। अस्पतालले थप दुई जना बालस्वास्थ्य विशेषज्ञ नियुक्त गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ। हेटौँडा अस्पतालमा हाल २४ बेडको बालबालिका वार्ड, चार बेडको स्पेशल नियोनेटल केयर युनिट र चार बेडको पोषण पुनःस्थापना केन्द्रसमेत सञ्चालनमा छन्।

पालिका प्रेस
थप जानकारी