सेवाग्राहीलाई सहज, गुणस्तरीय र सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले निको अस्पताल प्रा.लि., हेटौंडा–२ र सियान पुनस्र्थापना केन्द्रबीच स्वास्थ्य उपचारमा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार सियान पुनस्र्थापना केन्द्रबाट स्वास्थ्य उपचार तथा आवश्यक सेवाका लागि निको अस्पतालमा रेफर गरिएका सेवाग्राहीले अस्पतालबाट उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन्। सम्झौताको मुख्य उद्देश्य पुनस्र्थापना सेवामा रहेका सेवाग्राहीको स्वास्थ्य अवस्थाको नियमित मूल्याङ्कन, चिकित्सकीय परामर्श, स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारमा सहज पहुँच सुनिश्चित गर्नु रहेको छ।

सम्झौताअनुसार सेवाग्राहीले आवश्यकताअनुसार चिकित्सक तथा विशेषज्ञको परामर्श, प्रयोगशाला परीक्षण, अल्ट्रासाउन्ड (ग्क्न्), एक्स–रेलगायतका निदानात्मक सेवा तथा आवश्यक अस्पताल उपचारमा सहुलियत पाउनेछन्।

त्यसैगरी, सेवाग्राहीको स्वास्थ्य अवस्था जटिल बनेमा समयमै थप उपचार तथा विशेषज्ञ सेवाका लागि रेफरल र आवश्यक समन्वय गर्ने व्यवस्था समेत सम्झौतामा समेटिएको छ। निको अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै सियान पुनस्र्थापना केन्द्रसँग आवश्यक चिकित्सकीय समन्वय गर्ने तथा केन्द्रले आफ्ना सेवाग्राहीलाई आवश्यक स्वास्थ्य उपचारका लागि निको अस्पतालसँग समन्वय गर्ने सहमति भएको जनाइएको छ।

दुवै संस्थाले यो सहकार्यबाट पुनस्र्थापना सेवामा रहेका व्यक्तिहरूको स्वास्थ्य उपचारमा देखिने आर्थिक तथा पहुँचसम्बन्धी कठिनाइ कम हुने विश्वास व्यक्त गरेका छन्। साथै, स्वास्थ्य उपचार र पुनस्र्थापना सेवालाई एकीकृत रूपमा अघि बढाउन सम्झौताले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। निको अस्पताल र सियान पुनस्र्थापना केन्द्रबीचको यस सहकार्यले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य उपचार समयमै उपलब्ध गराउनुका साथै स्वास्थ्य क्षेत्रमा संस्थागत सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

पालिका प्रेस
थप जानकारी