मकवानपुरको मनहरी गाउँपालिका वडा नं ७ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूह जिल्ला प्रथम भई पुरस्कार पाएको छ । डिभिजन वन कार्यालय राप्ती मनहरी अन्तर्गत रहेका २०६ वटा सादायिक वन उपभोक्ता समूहमध्ये मनकामना प्रथम भएको हो । सामुदायिक वन दिवसको अबसर पारेर राप्ती डिभिजन वन कार्यालय र मकवानपुर डिभिजन वन कार्यालयले संयुक्त रुपमा बागमती प्रदेशको राजधानी हेटौँडामा पुरस्कार वितरण गरेको हो । गत आर्थिक बर्ष २०८२÷०८३ कै बिनियोजित बजेट बमोजिम कार्यसम्पादन, जनसहभागिता, चुस्त प्रशासन, वन कार्यालयहरुसँगको समन्वय लगायतका बिषयहरुमा उत्कृष्ट भूमिका निर्बाह गर्ने सामुदायिक वन उपभोक्ता समूहहरुलाई पुरस्कृत गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेमबहादुर थापाले बताए ।
मनकामना सामुदायिक वनले प्रथम स्थान हासिल गरी नगद १६ हजार रुपियाँ र प्रमाणपत्र हासिल गरेको हो । समूहका अध्यक्ष सुरेश मुक्तान, उपाध्यक्ष बालकृष्ण मुक्तान, सचिव इन्द्रकुमारी मुक्तान लगायत टिमलाई वन निर्देशनालयका निर्देशक विद्यानाथ झा, राप्ती डिभिजन वन कार्यालय प्रमुख हेमबहादुर थापा लगायतले नगद तथा प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । द्वित्तीय स्थान हासिल गरी नगद १० हजारसहित प्रमाण पत्र राक्सिराङ गाउँपालिका ८ स्थित जन कल्याण सामुदायिक वन उपभोक्ता समूहले र तृत्तीय थाहानगरपालिका वडा नं २ हिमचुली सामुदायिक वन उपभोक्ता समूह घोषित भई नगद ७ हजार रुपियाँ तथा प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ ।
‘अघिल्लो आर्थिक बर्षकै बजेट कार्यान्वयन गरी सामुदायिक वन उपभोक्ता समूहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो’, प्रमुख थापाले भने–‘सामुदायिक वन दिवसको अबसर पारेर उपभोक्ताका प्रतिनिधिहरुलाई प्रोत्साहन गर्ने अबसर जुटाइएको हो ।’ हरेक बर्ष डिभिजन वन कार्यालयले उत्कृष्ट कार्य सम्पादन गर्ने समूहलाई नगदसहित पुरस्कृत गर्ने गरेको छ ।
कबुलियती वनतर्फ क्याम्पाडाँडा (क) कबुलियती वन हेटौँडा १९ ले प्रथम स्थान हासिल गरी १६ हजार नगद रुपियाँ र प्रमाणपत्र प्राप्त गरेको छ भने इन्द्रसरोबर गाउँपालिका १ स्थित बनबासपाखा कबुलियती वन र भीमफेदी ४ स्थित चण्डीदेवी कबुलियती वन क्रमश द्वित्तीय र तृत्तीय स्थान हासिल गरी नगद १० हजार र ७ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ । राप्ती वन डिभिजन कार्यालयको क्षेत्रभित्र कूल २६३ वटा कबुलियती वन रहेको छ । आर्थिक बर्ष २०८२÷०८३ मा उत्कृष्ट कर्मचारीको रुपमा वन अधिकृत बीरबहादुर बोम्जन घोषित भई पुरस्कार प्राप्त गर्नु भएको छ ।
















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्