पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो आएपछि उक्त मार्ग अवरुद्ध भएसँगै त्रिभुवन राजपथ एकतर्फी गरिएको छ । हेटौँडा भएर काठमाडौँ आवत जावत गर्ने सडकमा सवारी चाप बढेपछि त्रिभुवन राजपथ एकतर्फी गरेपछि प्रदेश राजधानी र सङ्घीय राजधानीबिचको यात्रुको आवागमन तथा खाद्यान्न र अत्यावश्यक वस्तुको ढुवानीमा केही सहज भएको छ । तर मकवानपुरको उत्तरी क्षेत्रका किसान त्रिभुवन राजपथ एकतर्फी गर्ने निर्णयले मारमा परेका छन् ।

त्रिभुवन राजपथमा एकतर्फी सवारी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयले थाहा नगरपालिकाका किसान र तरकारी व्यवसायीमाथि सङ्कट थपिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन एकतर्फी गर्दै हेटौँडाबाट काठमाडौँतर्फ जाने र कान्ति लो्कपथ हुँदै हेटौँडा आउने व्यवस्था गरेको छ । उक्त व्यवस्थापछि पालुङबाट हेटौँडा आउन तरकारी बोकेका सवारी साधनलाई समेत रोक लगाइएको छ ।

नेपाल तरकारी तथा फलफूल व्यवसायी सङ्घ उत्तरी क्षेत्र समितिका अध्यक्ष राजेन्द्र बिडारी किसानले उत्पादन गरेका तरकारी बजारमा पु¥याउनु पर्ने समयमा सडक एकतर्फीपछि दुई दिनदेखि खेतबारीबाट उत्पादन लिन नसक्र्ने अवस्था आएको बताउनुहुन्छ ।

उहाँले साना ठुला गरी दैनिक एक सय गाडी अर्थात् चार सयदेखि पाँच सय टनसम्म विभिन्न तरकारी पोखरा, हेटौँडा सहित तराईका जिल्लाहरुमा तरकारी आपूर्ति हुँदै आएको भन्दै मङ्गलबारबाट त्रिभुवन राजपथमा सवारी आवागमन एकतर्फी गर्ने मकवानपुर प्रशासनको निर्णयसँगै बिक्री गर्न योग्य भएको तरकारी खेतबारीमा नै छाड्नुपर्ने अवस्था आएको बताउनुभयो ।

यो तरकारी उत्पादन हुने मध्य समय हो, किसानले उत्पादन गरेका तरकारी हेटौँडा हुँदै वीरगञ्ज, नारायणगढ, वुटवल, निजगढ, जनकपुरलगायतका सहरमा आपूर्ति हुँदै आएको थियो उहाँले भन्नुभयो, तरकारी बजारमा पु¥याउनु पर्ने समयमा खेतबारीमा नै थन्किएको छ, काठमाडौँमा मात्र पठाउँदा लगानी उठ्ने अवस्था छैन ।

तरकारी एक दिनमात्र राख्दा किसानले लाखौँ रुपियाँ नोक्सानी हुने भन्दै इलाका प्रहरी कार्यालय पालुङमा आग्रह गर्दा विकल्प नदिएको बताउनुभयो । थाहा नगरको तरकारीको बजारका लागि काठमाडौँमा मात्र भर पर्दा किसानले उचित मूल्य नपाउने अवस्था आएको छ । त्रिभुवन राजपथ एकतर्फीपछि थाहाबाट उत्पादित तरकारी हेटौँडातर्फ लैजान रोक लगाएसँगै किसानले उत्पादन गरेको तरकारी बजारसम्म कसरी पु¥याउने भन्ने समस्या आएको थाहा नगरको पालुङका किसान निरोज प्रधानले बताउनुभयो ।

उहाँले थाहा नगरमा उत्पादन हुने तरकारीको आधा हिस्साभन्दा बढी तरकारीको बजार पोखरा, हेटौँडासहित तराईका जिल्ला भएको भन्दै काठमाडौँको बजारमा मात्र निर्भर हुँदा किसानले लागतका आधार मूल्य पनि नपाएकोले खेतबारीबाट तरकारी निकाल्नेसक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, यो क्रमले निरन्तरता पाएमा तरकारी छिप्पिने र खेतबारीमानै कुहिने अवस्था आउँछ, किसानको लगानी डुब्छ ।

थाहा नगरमा हाल काउली, भेँडेखुर्सानी, बन्दा, मुला, धनियाँ, माछेखुर्सानी, फर्सी, गोलभेडालगायतका तरकारी उत्पादन भईरहेको छ । थाहा नगरपालिकाका नगरप्रमुख विष्णु विष्ट त्रिभुवन राजपथ प्रशासनले एकतर्फी गरेसँगै नगरक्षेत्रमा उत्पादित तरकारी बजार पठाउन समस्या भएको र खेतबारीमा नै कुहिने अवस्थामा पुगेको बताउनुहन्छ ।

उहाँले प्रशासनले सडक एकतर्फी गर्ने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै तरकारी उत्पादक किसानको समस्याका बारेमा अवगत गराउँदा सुनुवाई नभएको बताउनुभयो । उहाँले थाहा नगरमा उत्पादित तरकारीको ठुलो बजार हेटौँडा सहित तराईका जिल्ला भएको भन्दै सडक एकतर्फी गरेपछि तरकारी बजारमा पु¥याउन नपाउँदा किसानको लाखौँ रुपियाँ नोक्सानी बेहोर्नु परेको भएको छ ।

विपद्को अवस्थामा सडक व्यवस्थापन आवश्यक छ उहाँले भन्नुभयो, तर निर्णय गर्दा किसान, व्यवसायी र स्थानीय अर्थतन्त्र पनि त हेर्नुपर्छ । उहाँले प्रशासनले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने भन्दै किसान आन्दोलित हुने अवस्था आउन दिन नहुने र फलफूल व्यवसायी सङ्घका अध्यक्ष बिडारीले वर्षाको समय भएकोले धनियाँ समयमा नपुग्दा कुहिने, काउली, भेँडेखुर्सानीलगायतमा दाग लाग्ने लगायतका समस्या आउने भन्दै काठमाडौँमा लैजाँदा उचित मूल्य नपाएको बताउनुभयो ।

उहाँले थाहाको तरकारी केवल थाहाको उत्पादन मात्र नभएर किसानको रोजीरोटी र कयौँको व्यापार र रोजगारीसँग पनि जोडिएकोले सुनुवाई नभए आन्दोलन गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।

-गोरखापत्र अनलाइनबाट

पालिका प्रेस
थप जानकारी